काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो र बाढीको जोखिमले देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडक सञ्जाल प्रभावित बनेका छन्। नेपाल प्रहरीका अनुसार हाल देशभर कम्तीमा आठ वटा प्रमुख सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ भने दुई महत्वपूर्ण राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी मकवानपुरको कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न नपाइने निर्णय गरिएको छ।
पूर्वदेखि पश्चिमसम्मका विभिन्न सडकखण्डमा पहिरो र वर्षाका कारण यातायात सेवा ठप्प भएको छ। इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग हिलाम्मे बनेपछि पूर्ण रूपमा बन्द भएको छ भने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो र गाउँपालिका-२ कोदारीस्थित अरनिको राजमार्गमा खसेको पहिरोले आवागमन अवरुद्ध भएको छ।
यस्तै, बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरस्थित कालीगण्डकी करिडोर, पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ कोप्चेस्थित राँके-रवि-भेडेटार सडक तथा गोरखाको धार्चे गाउँपालिका-७ लिदिङस्थित आरुघाट-माछिखोला सडक पनि पहिरोका कारण पूर्ण रूपमा बन्द रहेका छन्। यसैबीच, ललितपुरको बागमती गाउँपालिका-३ पाङ्दुर क्षेत्रमा आज बिहान सुक्खा पहिरो खसेपछि कान्तिलोकपथको अर्को खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षा अझै जारी रहेकाले पहाडी तथा नदी किनारका सडकमा यात्रा गर्दा अत्यधिक सावधानी अपनाउन, यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिन तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। मौसममा सुधार नआएसम्म थप सडकहरू पनि प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक जोखिमयुक्त यात्रा नगर्न सुरक्षा निकायको अनुरोध छ।