काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः२५ बजे सुरु हुनेछ।
घरेलु मैदानमा सम्पन्न पछिल्ला दुई शृंखलाका आठमध्ये ६ खेल जित्दै उत्कृष्ट लयमा रहेको नेपाल सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रनेछ। नेपाल र नामिबियाबीच अहिलेसम्म आठ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेपालले दुई खेल जित्दा पाँच खेलमा पराजित भएको छ भने एक खेलको नतिजा आएको थिएन। पछिल्ला दुई भेटमा भने नेपाल घरेलु मैदानमै नामिबियासँग चार र दुई विकेटले पराजित भएको थियो।
विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउन नेपालका लागि बाँकी रहेका सबै आठ खेल जित्नु अनिवार्य छ। यति मात्र होइन, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानको नतिजा पनि नेपालको पक्षमा आउनुपर्ने अवस्था रहेको छ। हालसम्म अमेरिका ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेको छ। बाँकी तीन स्थानका लागि सात टोलीबीच प्रतिस्पर्धा जारी छ। २८ खेलबाट २४ अंक जोडेको नेपाल तालिकाको पाँचौँ स्थानमा छ भने समान खेलबाट २२ अंक जोडेको नामिबिया सातौँ स्थानमा रहेको छ।
आजको खेलका लागि नेपालको टोली:
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आरिफ शेख, गुल्सनकुमार झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितनारायण राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी।