काठमाडौं । बहुप्रतीक्षित सिस्नेखोला-नागढुङ्गा सुरुङमार्ग साउन दोस्रो सातादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। सुरुवाती चरणमा भने एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइने भएको छ।
सिस्नेखोला-नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङको प्रणाली परीक्षणलाई प्रभावकारी बनाउन पहिलो चरणमा इमर्जेन्सी सवारीसाधन सञ्चालन गरिनेछ। त्यसपछि क्रमशः कार, भ्यान, साना सवारी, बस र ट्रकलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ।
सुरुङ सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नेपाली कम्पनीसँगको संयुक्त साझेदारीमा रहेको चिनियाँ कम्पनी युसिन-एआरटी जेभी लाई दिइएको छ। आयोजनाले १४१ जना नेपाली र पाँच जना विदेशी विशेषज्ञसहित १४६ जनाको टोली परिचालन गर्ने तयारी गरेको छ। कर्मचारीलाई सुरुङ सञ्चालन, सुरक्षा प्रणाली तथा आपत्कालीन उद्धारसम्बन्धी विशेष तालिम दिइँदैछ।
आयोजनाका अनुसार अहिले सुरुङभित्र दुर्घटना, आगलागी र उद्धार व्यवस्थापनसम्बन्धी अभ्याससमेत भइरहेको छ। प्रहरी, सशस्त्र प्रहरी, अस्पताल, स्थानीय तह तथा दमकल सेवासँग आवश्यक समन्वय गरी आपत्कालीन तयारीलाई समेत अन्तिम रूप दिइँदैछ। यसैबीच, सामाजिक सञ्जालमा सुरुङमार्गमा मानिसहरू मर्निङ वाक गरिरहेको भिडियो सार्वजनिक भएपछि आयोजनाले स्पष्ट पारेको छ कि उक्त गतिविधि नेपाल-जाइका सहकार्यको ७०औँ वर्षगाँठको अवसरमा आयोजित सचेतनामूलक कार्यक्रममा मात्रै गरिएको थियो।
नियमित रूपमा सर्वसाधारणलाई सुरुङभित्र प्रवेश गर्न अनुमति नरहेको र सवारी सञ्चालन सुरु भएपछि त्यस्ता गतिविधि पूर्ण रूपमा बन्द गरिने जनाएको छ।आयोजनाका अनुसार सुरुवाती चरणमा सीमित सवारीसाधन सञ्चालन गरेर सुरुङको सम्पूर्ण प्रणाली परीक्षण गरिनेछ। सबै प्रकारका सवारीसाधनलाई पूर्ण रूपमा सञ्चालनमा आउन भने अझै केही महिना लाग्ने जनाइएको छ।