काठमाडौं । कन्नड सुपरस्टार यश अभिनीत फिल्म ‘टक्सिक’ को प्रदर्शन मिति अगाडि सारिएसँगै नेपाली फिल्महरूको रिलिज तालिका फेरिएको छ। यसैक्रममा नेपाली फिल्म ‘जदौ’ ले पनि आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ।
यसअघि भदौ १२ मा रिलिज हुने तयारीमा रहेको ‘जदौ’ अब असोज ९, अर्थात् इन्द्रजात्राको अवसरमा प्रदर्शन हुने भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत फिल्मको पहिलो गीत ‘जदौ हजुर...’ सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो।
असोज ९ मा अब ‘जदौ’सँगै ‘आचार्य’, ‘हन्टर’, ‘कुस्ती’ र बलिउड फिल्म ‘द विवान’ पनि प्रदर्शन हुने भएका छन्। यसअघि भदौ १२ मा रिलिज हुने भनिएका अधिकांश नेपाली फिल्महरूले ‘टक्सिक’सँगको प्रतिस्पर्धा टार्न प्रदर्शन मिति सारेका छन्। सार्वजनिक गरिएको ‘जदौ हजुर...’ गीतमा धनराज बहादुर गिरी (बाबुल) को शब्द तथा संगीत, राजनराज सिवाकोटी र रचना रिमाल को स्वर रहेको छ। गीतको भिडियोमा नीति शाह, प्रभात पाल ठकुरी, राजश्री थापा र खड्गबहादुर पुन (खबपु) को आकर्षक नृत्य देख्न सकिन्छ। गीतको कोरियोग्राफी रामजी लामिछाने ले गरेका हुन्।
अन्जन शर्मा र काजी लिम्बू को निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्गबहादुर पुन (खबपु) लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मका निर्माता सृजना शर्मा र मनिष शर्मा हुन्।