एजेन्सी । इरान र अमेरिकाबीचको युद्ध थप भयावह बन्दै गएको छ। अमेरिकी सेनाले पछिल्लो चरणमा इरानका सार्वजनिक पूर्वाधारलाई लक्षित गर्दै पुल, ऊर्जा केन्द्र तथा रणनीतिक महत्वको चाबहार बन्दरगाहस्थित एक टावरमा आक्रमण गरेको छ। इरानी सञ्चारमाध्यमका अनुसार यी आक्रमणले देशको यातायात, ऊर्जा आपूर्ति र व्यापारिक संरचनामा गम्भीर असर पारेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा इरानको नियन्त्रण कमजोर पार्ने उद्देश्यले त्यहाँका पूर्वाधारलाई निशाना बनाइने चेतावनी दिएका थिए। त्यसलगत्तै हर्मुजान प्रान्तका कम्तीमा तीन पुलमा आक्रमण भएको, हर्मुजान र फार्स प्रान्त जोड्ने कोहोरेस्तान पुल क्षतिग्रस्त भएको तथा बन्दर अब्बासको रेलवे जक्सनमा भएको आक्रमणमा दुई जना घाइते भएको इरानी समाचार एजेन्सी मेहरले जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार यी घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ।
इरानको ऊर्जा मन्त्रालयले पहिलो पटक अमेरिकी हवाई आक्रमणबाट आफ्ना विद्युतीय पूर्वाधारमा क्षति पुगेको स्वीकार गर्दै दक्षिणी क्षेत्रका नागरिकलाई विद्युत् खपत कम गर्न आग्रह गरेको छ। मन्त्रालयले अत्यधिक गर्मी र ऊर्जा पूर्वाधारमाथिको आक्रमणका कारण विद्युत् आपूर्तिमा चुनौती थपिएको जनाएको छ, यद्यपि कुन संरचना क्षतिग्रस्त भयो भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
त्यसैगरी, ओमानको खाडीमा रहेको रणनीतिक चाबहार बन्दरगाहमा भएको आक्रमणबाट एक टावर ध्वस्त भएको छ। अफगानिस्तानसँग जोड्ने प्रमुख व्यापारिक मार्ग मानिने यो बन्दरगाहलाई इरानको रिभोलुसनरी गार्ड्सले सैन्य प्रयोजनका लागि पनि प्रयोग गर्दै आएको बताइएको छ।
इरानी स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला ६ दिनमा अमेरिकी आक्रमणका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन्। सार्वजनिक पूर्वाधारमा भएको क्षतिले खाद्यान्न, उपभोग्य सामग्री र सैन्य आपूर्तिको ढुवानीमा समेत गम्भीर संकट उत्पन्न हुन सक्ने चेतावनी इरानले दिएको छ। यता अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै इरानविरुद्धको सैन्य अभियान सही दिशामा अघि बढिरहेको दाबी गरेका छन्। उनले अमेरिका ठूलो सफलता नजिक पुगेको भन्दै त्यसको परिणाम छिट्टै देखिने बताएका छन्।
अमेरिकी आक्रमणको जवाफमा इरानले कतार, बहराइन, कुवेत र जोर्डनतर्फ मिसाइल प्रहार गरेको छ। कतारमा एअर डिफेन्स प्रणालीले अधिकांश मिसाइल आकाशमै निष्क्रिय पारे पनि मिसाइलका अवशेष खस्दा एक बालिका घाइते भएकी छन्। कुवेतका अधिकारीहरूका अनुसार इरानी आक्रमणबाट एक प्रमुख विद्युत् तथा पानी प्रशोधन केन्द्रमा ठूलो क्षति पुगेको छ, जसबाट देशको खानेपानी आपूर्तिमा असर पर्ने जोखिम बढेको छ। उता जोर्डनले पनि आफ्नो वायुक्षेत्रमा प्रवेश गरेका तीनवटा इरानी मिसाइल सफलतापूर्वक निष्क्रिय पारिएको जनाएको छ।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराग्चीले सार्वजनिक पूर्वाधारलाई लक्षित अमेरिकी आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका छन्। लगातार बढ्दो सैन्य कारबाहीसँगै मध्यपूर्वमा तनाव थप चर्किएको छ भने युद्ध क्षेत्र विस्तार हुने जोखिमसमेत बढ्दै गएको विश्लेषण गरिएको छ।