काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (शुक्रबार) काठमाडौं उपत्यकासहित देशका ३१ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार निरन्तर वर्षाका कारण काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी (पूर्व), पाल्पा, अर्घाखाँची, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत तथा आसपासका जिल्लाका ससाना नदी र खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको जनाएको छ।
यस्तै, ओखलढुंगा, रामेछाप, रुकुमपूर्व, जाजरकोट, डोटी, डडेल्धुरा, बझाङ, दार्चुला तथा आसपासका जिल्लामा पनि ससाना नदीमा आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको महाशाखाको पूर्वानुमान छ।
महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्र, डुबान हुन सक्ने स्थान र कमजोर भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, वर्षाका कारण नदी पार गर्ने, तटीय क्षेत्रमा आवतजावत गर्ने तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।