काठमाडौं । निर्देशक डा. कपिल रिजालको निर्देशनमा बनेको नेपाली फिल्म ‘गौँथली’ आज (शुक्रबार)देखि नेपालसँगै विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको छ। अटिजम, पारिवारिक सम्बन्ध र नेपाली ग्रामीण समाजको यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको यो फिल्मले प्रदर्शनअघि आयोजित प्रिमियरबाट नै सकारात्मक प्रतिक्रिया बटुलेको थियो।
राजधानीमा सम्पन्न प्रिमियरमा सहभागी दर्शकहरूले फिल्मको कथावस्तु, प्रस्तुति शैली तथा कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका थिए। विशेषगरी २०६० सालअघिको ग्रामीण नेपाली समाजमा महिलाले भोग्नुपरेका सामाजिक विभेद, पारिवारिक संवेदना र बाध्यतालाई फिल्मले भावनात्मक ढंगले प्रस्तुत गरेको प्रतिक्रिया आएको छ।
फिल्ममा अभिनेता अरुण क्षेत्रीले अटिजम भएका पात्रको भूमिका निर्वाह गरेका छन् भने अभिनेत्री सिम्रन खड्कासँग उनको पहिलोपटक श्रीमान्-श्रीमतीको रूपमा देखिएको अनस्क्रिन जोडीलाई पनि दर्शकले रुचाएका छन्। यसअघि महापुरुषबाट चर्चामा आएका अरुण र प्रेमगञ्ज, चित्रा तथा बेहुली फ्रम मेघौलीमार्फत अभिनय क्षमता प्रमाणित गरिसकेकी सिम्रन ‘गौँथली’मार्फत फरक भूमिकामा दर्शकमाझ आएका छन्।
फिल्ममा गौँथलीलाई घर, परिवार र आत्मीय सम्बन्धको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। यसमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली, बाल कलाकार अंशु ओली र प्रिन्स नेपालीलगायत कलाकारहरूको अभिनय रहेको छ।
डा. भोला रिजालको कथामा निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको पटकथा तथा संवाद रहेको फिल्म भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो। फिल्ममा शम्भुजीत बाँसकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, एलिस कार्कीको पाश्र्व संगीत, हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।