काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको पहिलो निर्माण रहेको फिल्म ‘मास्टर्नी’ को प्रमोसनका लागि गायक दुर्गेश थापाले विशेष उपहार दिएका छन्। उनले फिल्मका लागि गीत मात्रै होइन, त्यसको भिडियो समेत आफ्नै खर्चमा तयार पारेर प्रियंकालाई कोसेलीस्वरूप दिएका हुन्।
काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको उक्त गीतमा दुर्गेश थापाकै शब्द, संगीत र स्वर रहेको छ। गायनमा उनलाई बबिना किरातीले साथ दिएकी छन्। गीतको भिडियोमा दुर्गेशसँगै प्रियंका कार्की, आयुष्मान देशराज जोशी र आर्यन सिग्देलको अभिनय देख्न सकिन्छ भने कोरियोग्राफी प्रदीप लामाले गरेका छन्।
प्रियंका कार्कीले यो सहयोग आफ्नो लागि निकै विशेष भएको बताएकी छन्। उनका अनुसार दुर्गेशले अडियोदेखि भिडियोसम्म सबै काम आफ्नै खर्चमा सम्पन्न गरेका छन्। साथै, फिल्मको देशव्यापी प्रचार अभियानमा पनि कुनै पारिश्रमिक नलिई सहभागी हुने प्रतिबद्धता जनाएका छन्।
आगामी भदौ ५ गते प्रदर्शनमा आउने फिल्म ‘मास्टर्नी’ मा प्रियंका कार्कीसँगै सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, सिम्रन खड्का र अनुप विक्रम शाहीलगायत कलाकारहरूको अभिनय रहेको छ। शुभेन्द्र घोषको निर्देशनमा बनेको यस फिल्मको निर्माण प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले संयुक्त रूपमा गरेका हुन्।