काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा ४ सेन्टिमिटरको ब्रेन ट्युमर भेटिएपछि सफल शल्यक्रिया गरिएको छ। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र जनरल वार्डमा सारिएको जानकारी सहकर्मी कलाकार दीपकराज गिरीले दिएका छन्।
‘छ माया छपक्कै’ चलचित्रको छायांकनमा व्यस्त रहेकै बेला ढाड दुख्ने समस्या देखिएपछि दीपाश्री स्वास्थ्य परीक्षणका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल पुगेकी थिइन्। प्रारम्भमा सामान्य समस्या ठानेर गरिएको परीक्षणमा मस्तिष्कमा ट्युमर देखिएपछि चिकित्सकले तत्काल उपचार आवश्यक रहेको बताएका थिए।
परिवार र आफन्तले उपचारका लागि भारत जान सुझाव दिए पनि उनले नेपालमै न्युरो सर्जन डा. वसन्त पन्तको टोलीबाट शल्यक्रिया गराउने निर्णय गरेकी थिइन्।
अस्पताल भर्ना हुनुअघि भने दीपाश्रीले आफ्ना व्यावसायिक जिम्मेवारी पूरा गर्न व्यस्त रहिन्। उनले ‘छ माया छपक्कै’को गीत छायांकन, अभिनेत्री नीता ढुंगानाको चलचित्रको डबिङ तथा ‘कमेडी नाइट्स’को छायांकनसमेत सम्पन्न गरेपछि मात्र शल्यक्रियाका लागि अस्पताल भर्ना भएकी थिइन्।
के हो ब्रेन ट्युमर ?
ब्रेन ट्युमर भनेको मस्तिष्कभित्र असामान्य रूपमा कोषिकाहरू बढेर बनेको गाँठो हो। यो क्यान्सर नभएको (Benign) वा क्यान्सरयुक्त (Malignant) दुवै प्रकारको हुन सक्छ।
चिकित्सकहरूका अनुसार ४ सेन्टिमिटरको ट्युमर आकारका हिसाबले ठूलो मानिन्छ। मस्तिष्क खोपडीभित्र सीमित ठाउँमा हुने भएकाले यति ठूलो ट्युमरले मस्तिष्कका महत्त्वपूर्ण भागमा दबाब सिर्जना गर्न सक्छ, जसले टाउको दुख्ने, वान्ता हुने, दृष्टि कमजोर हुने, बोली वा शरीरको चालमा समस्या देखिनेजस्ता लक्षण उत्पन्न गराउन सक्छ।
यदि ट्युमर मेनिन्जियोमा जस्तो सौम्य प्रकृतिको भए शल्यक्रियाबाट पूर्ण रूपमा निको हुने सम्भावना उच्च हुन्छ। तर ग्लियोब्लास्टोमा जस्तो क्यान्सरयुक्त ट्युमर भए थप उपचार आवश्यक पर्न सक्छ।
दीपाश्रीको ट्युमरको वास्तविक प्रकृति भने शल्यक्रियापछि गरिएको बायोप्सी रिपोर्ट आएपछि मात्र पुष्टि हुनेछ। हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।