एजेन्सी । इरानले अमेरिकाको सैन्य कारबाहीको प्रतिउत्तरस्वरूप पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अड्डामाथि एकैपटक व्यापक मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। इरानका सरकारी स्रोतहरूका अनुसार आइतबार जोर्डन, कतार, कुवेत, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा रहेका अमेरिकी सैन्य अड्डा तथा रणनीतिक संरचनालाई लक्षित गर्दै आक्रमण गरिएको हो।
इरानले उक्त आक्रमणमा अमेरिकी सेनातर्फ ठूलो मानवीय तथा भौतिक क्षति पुगेको दाबी गर्दै धेरै अमेरिकी सैनिक मारिएको जनाएको छ। यद्यपि यो दाबीको स्वतन्त्र पुष्टि भने अहिलेसम्म हुन सकेको छैन। अमेरिकी पक्षले पनि यसबारे विस्तृत आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।
यसअघि अमेरिकाले होर्मुज जलसन्धिमा इरानी गतिविधिपछि इरानका करिब १४० सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको दाबी गरेको थियो। त्यसको प्रतिशोधस्वरूप इरानले क्षेत्रभर रहेका अमेरिकी सैन्य उपस्थितिलाई प्रत्यक्ष निशाना बनाएको जनाएको छ।
आक्रमणसँगै इरानले अर्को आदेश नआएसम्म विश्वकै सबैभन्दा संवेदनशील तेल ढुवानी मार्ग मानिने होर्मुज जलसन्धि बन्द गर्ने घोषणा पनि गरेको छ। इरानले जलसन्धि प्रयोग गर्ने कुनै पनि जहाजले आदेश उल्लंघन गरे आवश्यक कारबाही गरिने चेतावनी दिएको छ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकार मोहसिन रेजाईले होर्मुज जलसन्धिलाई इरानको राष्ट्रिय सुरक्षा र रणनीतिक प्रतिरक्षाको प्रमुख अस्त्रका रूपमा व्याख्या गर्दै आवश्यक परे यसको प्रयोग अझ कडा बनाइने संकेत दिएका छन्।
इरानको पछिल्लो कदमले पश्चिम एसियामा युद्धको दायरा थप विस्तार हुने चिन्ता बढाएको छ। विश्वको करिब पाँचौं भाग कच्चा तेल यही जलसन्धिबाट ओसारपसार हुने भएकाले यसको बन्दले अन्तर्राष्ट्रिय ऊर्जा बजार, समुद्री व्यापार तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने विश्लेषण गरिएको छ।
अमेरिका र इरानबीचको बढ्दो सैन्य टकरावले मध्यपूर्वलाई पूर्ण क्षेत्रीय युद्धतर्फ धकेल्न सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन दुवै पक्षसँग आग्रह गरिरहेको छ।