काठमाडौं । चीनमा एक साताभित्रै दोस्रो शक्तिशाली आँधी प्रवेश गरेपछि सरकारले ठूलो स्तरमा उद्धार तथा सुरक्षा अभियान सञ्चालन गरेको छ। ‘बावी’ नाम दिइएको उक्त आँधीका कारण करिब २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने पूर्वी चीनका विभिन्न प्रान्तमा उच्च सतर्कता अपनाइएको छ।
चीनको मौसम विभागका अनुसार ‘बावी’ शनिबार साँझ पहिलोपटक झेजियाङ प्रान्तको ताइझोउ तटीय क्षेत्रमा स्थलभागमा प्रवेश गरेको थियो। त्यसपछि राति वेनझोउ क्षेत्रमा दोस्रोपटक जमिन छोएपछि आँधीले व्यापक प्रभाव पार्न थालेको हो। करिब एक हजार किलोमिटर क्षेत्रफलमा फैलिएको यो आँधीको आकार फ्रान्सजत्तिकै रहेको बताइएको छ।
चीन पुग्नुअघि ‘बावी’ले जापानका दुर्गम टापुहरू प्रभावित पारेको थियो भने ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो। फिलिपिन्समा यही आँधीका कारण गएको पहिरोमा कम्तीमा १७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यद्यपि ‘बावी’को तीव्रता क्रमशः कमजोर बन्दै गएको मौसमविद्हरूले बताएका छन्। तर यससँगै आएको अत्यधिक आद्रताका कारण भारी वर्षा, बाढी र पहिरोको जोखिम अझै उच्च रहेको चेतावनी दिइएको छ। मौसम विभागले विशेषगरी झेजियाङ र फुजियान प्रान्तमा आइतबारसम्म अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गरेको छ।
सरकारी विवरणअनुसार झेजियाङ प्रान्तबाट मात्रै १७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने अन्य प्रभावित क्षेत्रबाट पनि हजारौं नागरिकलाई स्थानान्तरण गरिएको छ। राजधानी बेइजिङमा समेत करिब एक लाख मानिसलाई पूर्वसावधानीस्वरूप सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। आँधीको प्रभावका कारण झेजियाङमा विद्यालय, कार्यालय तथा बाहिरी गतिविधि स्थगित गरिएका छन्। साथै करिब ४०० उडान र दर्जनौं रेल सेवा रद्द गरिएको छ, जसले यातायात र जनजीवनमा व्यापक असर परेको छ।
यसअघि यही साता आएको ‘मायसाक’ आँधी बाट दक्षिणी चीनका धेरै क्षेत्र अझै पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सकेका छैनन्। उक्त आँधीका कारण कम्तीमा ३९ जनाको मृत्यु हुनुका साथै ठूलो जनधनको क्षति भएको थियो। लगातार दुई शक्तिशाली आँधीको सामना गरिरहेको चीनले उद्धार, राहत र जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रमा सतर्कता अझ कडा बनाएको छ।