काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘गौंथली’ को अमेरिका प्रदर्शन अधिकार (अमेरिका राइट्स) बिक्री भएको छ। चलचित्रको अमेरिका राइट्स सेभेन सिस इन्टरनेसनल फिल्म्सले खरिद गरेको निर्माण पक्षले जनाएको छ।
अमेरिका राइट्स बिक्रीसम्बन्धी सम्झौतामा चलचित्रका निर्देशक डा. कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्म्सका प्रतिनिधि रोशन सुवेदीले हस्ताक्षर गरेका छन्। निर्माण टिमका अनुसार प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रप्रति अन्तर्राष्ट्रिय बजारको चासो बढ्दै गएको छ। निर्देशक डा. कपिल रिजालले ट्रेलर सार्वजनिक भएपछि विदेशबाट प्रदर्शन अधिकार खरिदका लागि निरन्तर प्रस्ताव आउन थालेको बताए।
नेपालमा साउन १ गते देखि प्रदर्शनमा आउने ‘गौंथली’ अमेरिकामा भने साउन ८ गते (जुलाई २४) देखि विभिन्न प्रमुख शहरहरूमा एकसाथ प्रदर्शन हुनेछ। यसैबीच, चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुलेसँगै चलचित्रप्रति दर्शकको उत्साह बढेको निर्माण पक्षको दाबी छ। यही कारण अन्तर्राष्ट्रिय बजारमा पनि चलचित्रलाई ठूलो स्केलमा प्रदर्शन गर्ने तयारी गरिएको छ।
‘गौंथली’ नाम नेपाली चलचित्र इतिहाससँग पनि जोडिएको छ। दुई दशकअघि डा. भोला रिजालले यही नाममा निर्माण गरेको चलचित्रलाई नेपालको पहिलो गीति (म्युजिकल) फिल्म मध्ये एक मानिन्छ। अहिले सोही नाममा उनका छोरा तथा निर्देशक डा। कपिल रिजाल ले नयाँ कथासहित ‘गौंथली’ निर्माण गरेका हुन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपाली लगायतका कलाकारको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। कथा डा. भोला रिजालको रहेको यस चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। छायांकन हरि हुमागाईं र सम्पादन मिलन श्रेष्ठले गरेका छन्।