काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७, साङ्गेतरामा भएको सवारी दुर्घटनामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ। बिहीबार साँझ दुई शव भेटिएसँगै दुर्घटनामा मृत्यु हुने र सनाखत हुनेको संख्या तीन पुगेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार फेला परेका शव आफन्तले घटनास्थलमै पुगेर सनाखत गरी बुझिसकेका छन्। यसअघि भिरमा शव फेला परेका कालिकोट पचालझरना गाउँपालिका-९ का जेखे तिरुवासँगै अहिले सोही स्थानका मेखे तिरुवा र कालिकोटको रास्कोट नगरपालिका-२ की १८ वर्षीया सुजना खड्काको पनि शव फेला परेको हो।
प्रहरीका अनुसार तीनै जनाको पहिचान खुलिसकेको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव आफन्तको जिम्मा लगाइएको छ। यता, दुर्घटनामा परेको फोर्स गाडीका चालक सुर्खेत पञ्चपुरी नगरपालिका-८ का तुलाराम सुवेदी, उनका सहोदर भाइ तथा सहचालक रामु सुवेदीसहित अन्य यात्रुको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
बेपत्ता दाजुभाइका काका दिल्ली सुवेदीले परिवारका मुख्य सहारा नै दुर्घटनामा परेकाले घरपरिवार, आफन्त र गाउँ नै गहिरो शोकमा डुबेको बताए। गत बिहीबार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटनालगत्तै सशस्त्र प्रहरी बलको गोताखोर टोली, नेपाल प्रहरी र अन्य सुरक्षा निकाय परिचालन गरिएका छन्।
सुरक्षा निकायले नदीको बहाव, आसपासका क्षेत्र तथा सम्भावित स्थानहरूमा खोजी अभियानलाई तीव्र बनाएको जनाएको छ। बेपत्ता यात्रुको खोजी जारी रहेकाले मृतक र बेपत्ताको यकिन संख्या खोजी अभियान सम्पन्न भएपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।