काठमाडौं । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै स्थानीय बासिन्दाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध प्रदर्शन गर्दै उनको पुतला दहन गरेका छन्। नगरपालिकालाई लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइएका कारण बजेट कार्यान्वयन प्रभावित भएको र विकास निर्माणका काम ठप्प हुने अवस्था सिर्जना भएको भन्दै आन्दोलनकारीहरूले सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री बालेनको पुतला दहन गर्दै तत्काल मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउन माग गरेका थिए। उनीहरूले नगरपालिकालाई प्रशासनिक नेतृत्वविहीन बनाइएको भन्दै यसले स्थानीय तहको सेवा प्रवाह, योजना कार्यान्वयन तथा बजेट खर्च प्रक्रियामा गम्भीर असर परेको दाबी गरेका छन्।
प्रदर्शनकारीहरूले 'बिजुली-पानीको भुक्तानी गर', 'सम्मानित अदालतको आदेश पालन गर', 'मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर', 'मौलापुरमा हाकिम पठाऊ' तथा 'मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन' लगायतका नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
स्थानीयवासीका अनुसार विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने समयमा नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइनु जनहितविपरीत भएको छ। उनीहरूले प्रशासनिक नेतृत्व नहुँदा आर्थिक कारोबारदेखि योजनाको कार्यान्वयनसम्मका काम प्रभावित भएको बताएका छन्।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुरेशबाबु घिमिरेलाई मौलापुर नगरपालिकामा खटाएको थियो। तर उनले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै मन्त्रालयले फिर्ता बोलाएपछि हालसम्म अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाइएकाले नगरपालिकाको बजेट कार्यान्वयन अन्योलमा परेको आन्दोलनकारीहरूको आरोप छ।
प्रदर्शनकारीहरूले सरकारले तत्काल नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाई स्थानीय सरकारलाई नियमित रूपमा सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने माग गरेका छन्। उनीहरूले माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी समेत दिएका छन्।