काठमाडौं । नेपाली चलचित्रकी चर्चित अभिनेत्री नम्रता श्रेष्ठले ४० वर्षको उमेरसँगै आफ्नो जीवनमा नयाँ अध्याय सुरु भएको संकेत दिएकी छन्। २८ दिनसम्म पञ्चकर्म उपचारमा रहेपछि सामाजिक सञ्जालमार्फत जन्मदिनको भिडियो सार्वजनिक गर्दै उनले आफू पहिलेभन्दा धेरै शान्त, सन्तुलित र भरिपूर्ण बनेर फर्किएको बताएकी हुन्।
यद्यपि उनको जन्मदिन जुन १४ अर्थात् ३१ जेठमै परेको थियो, उनले बुधबार मात्र जन्मदिन मनाएको भिडियो सार्वजनिक गरेकी छन्। भिडियो ढिलो पोस्ट गर्नुको कारण खुलाउँदै उनले आफू २८ दिनसम्म पञ्चकर्म उपचारमा रहेकाले त्यस अवधिभर मोबाइल फोन प्रयोग नगरेको उल्लेख गरेकी छन्।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, “जुन महिना पूर्ण रूपमा मेरो थियो। २८ दिनको पञ्चकर्म, न फोन, न कोलाहल, न कुनै योजना। केवल वर्तमानमा बाँच्ने अनुभव।” उनले आफ्नो ४०औँ जन्मदिन डाक्टर, थेरापिस्ट र उपचारमा संलग्न व्यक्तिहरूसँग बिताएको बताउँदै उनीहरूले घरमै बनाएको केक र आफ्नै फिल्मका गीत गाएर दिएको सरप्राइज जीवनकै विशेष क्षण बनेको उल्लेख गरेकी छन्।
उनले जीवनले कहिलेकाहीँ मानिसलाई ठीक त्यही ठाउँमा पुर्याउने बताएकी छन्, जहाँ पुग्नु आवश्यक हुन्छ। साथै, आफू पहिलेभन्दा धेरै सचेत, शान्त र सन्तुलित बनेर घर फर्किएको उल्लेख गर्दै लेखेकी छन्, “तपाईं जे खानुहुन्छ, तपाईं त्यसैबाट बन्नुहुन्छ। तपाईं जे बोकेर हिँड्नुहुन्छ, त्यसले पनि तपाईंलाई बनाउँछ। र, तीमध्ये केही भार बिसाउने निर्णय गर्ने अधिकार पनि तपाईंमै हुन्छ। अब म फर्किएको छु-पहिलेभन्दा अझ भरिपूर्ण भएर।”
अभिनयमा आफ्नो छुट्टै पहिचान बनाएकी नम्रता पछिल्ला करिब सात वर्षदेखि ठूलो पर्दाबाट टाढा छिन्। उनको पछिल्लो प्रदर्शनमा आएको चलचित्र ‘जाइरा’ थियो। २०८० सालपछि उनी फिल्म अभिनयबाट केही समय अलग रहेकी थिइन्।
निकट स्रोतका अनुसार नम्रता यसै वर्ष चलचित्र क्षेत्रमा पुनरागमन गर्ने तयारीमा छिन्। उनले नयाँ फिल्मका लागि सम्झौता गरिसकेको बताइएको छ, यद्यपि निर्माण पक्षले यसबारे औपचारिक घोषणा भने गरिसकेको छैन।