काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने र विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र शहरी क्षेत्रमा डुबानको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
महाशाखाका अनुसार आज राति पनि देशका अधिकांश स्थानमा बदली कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले यात्रा, कृषि कार्य तथा नदी किनारका बस्तीमा विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।