काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअघि नेपाली क्रिकेटमा ठूलो व्यावसायिक साझेदारी भएको छ। एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित लोकप्रिय ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एनपीएलका ८ मध्ये ६ फ्रेन्चाइज टोलीसँग तीन वर्षका लागि टाइटल स्पोन्सरको सम्झौता गरेको छ। कम्पनीले यसलाई नेपाली खेलकुदको व्यावसायिक इतिहासमै निजी क्षेत्रबाट भएको सम्भावित सबैभन्दा ठूलो प्रायोजनमध्ये एक भएको दाबी गरेको छ।
सम्झौताअनुसार एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स का प्रमुख प्रायोजकका रूपमा आगामी तीन वर्षसम्म साथ दिनेछ। यस अवधिमा सम्बन्धित टोलीको खेल जर्सीको अगाडिको मुख्य स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ।
सोमबार आयोजित विशेष कार्यक्रममा सम्बन्धित ६ वटै फ्रेन्चाइज टोलीका प्रतिनिधि तथा एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया राणाबीच औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो। कार्यक्रममा नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै क्यान अध्यक्ष चन्दले यस्तो सहकार्यले नेपाली क्रिकेटको व्यावसायिक विकासलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनका अनुसार निजी क्षेत्रको बढ्दो लगानीले खेलाडीहरूको भविष्य थप सुरक्षित बनाउनुका साथै क्रिकेटको समग्र संरचनालाई अझ बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।
एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स म्यानेजर कृष्ण दाहालले नेपाल प्रिमियर लिग देशकै सबैभन्दा ठूलो र प्रतिष्ठित क्रिकेट प्रतियोगिता भएकाले ६ वटा टोलीसँग एकैपटक टाइटल स्पोन्सरका रूपमा जोडिन पाउनु कम्पनीका लागि गर्वको विषय भएको बताए। उनले यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि नभई नेपाली क्रिकेटको दीर्घकालीन विकासमा योगदान पुर्याउने उद्देश्यले गरिएको स्पष्ट पारे।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगत केही वर्षदेखि नेपाली खेलकुदमा निरन्तर लगानी गर्दै आएको छ। कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक रहनुका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहकार्य गर्दै आएको जनाएको छ।
दसैँपछि आयोजना हुने एनपीएलको तेस्रो संस्करणअघि भएको यो सम्झौताले नेपाली खेलकुदमा निजी क्षेत्रको विश्वास र लगानी बढ्दै गएको संकेत गरेको छ। यससँगै एनपीएलको व्यावसायिक मूल्य थप सुदृढ हुने र नेपाली क्रिकेटले नयाँ आर्थिक तथा संस्थागत आधार प्राप्त गर्ने अपेक्षा गरिएको छ।