काठमाडौं । नेपाली फिल्म ‘बेहुली’ को प्रदर्शन मिति फेरिएको छ। यसअघि भदौ १२ गते रिलिज हुने तयारीमा रहेको फिल्म अब भदौ २६ गते देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत नयाँ प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझी रोमान्टिक अवतारमा देखिएका छन्। बेहुलीको पहिरनमा रहेकी दिव्या पारसको अंगालोमा बाँधिएकी छन् भने पारसको हातमा देखिएको हतकडीले उनीहरूको प्रेमकथामा आउने गम्भीर मोड र संघर्षको संकेत गरेको छ।
‘होस्टेल ३’ का निर्देशक सशान कँडेल ले निर्देशन गरेको फिल्ममा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका कलाकारको अभिनय रहेको छ। पाँच वर्षपछि अभिनेता सुशान्त कार्की ले यही फिल्ममार्फत नेपाली चलचित्रमा कमब्याक गरेका छन्।
संगीतकार अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता प्रताप सम्सेर राणा हुन्। फिल्ममा माधव शर्माको लेखन, अर्जुन पोखरेलको संगीत, नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।
कन्नड सुपरस्टार यश अभिनीत फिल्म ‘टक्सिक’ भदौ १० गते प्रदर्शनमा आउने भएपछि नेपाली फिल्महरूको रिलिज मिति परिवर्तन हुने क्रम जारी छ। ‘बेहुली’ पनि सोही प्रतिस्पर्धालाई ध्यानमा राख्दै भदौ २६ मा सरेको निर्माण पक्षले जनाएको छ।