काठमाडौं । दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहने नयाँ नेपाली चलचित्र ‘रातो घेरा-द रेड सर्कल’ निर्माणको औपचारिक सुरुवात भएको छ। निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको चलचित्रको पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त सम्पन्न गरिएको हो।
निर्देशक मगरको अघिल्लो चलचित्र ‘मितज्यू’ हालै प्रदर्शनमा आए पनि अपेक्षित व्यापार गर्न नसकेको अवस्थामा उनले पुनः दयाहाङ राईलाई मुख्य भूमिकामा लिएर नयाँ परियोजना सुरु गरेका हुन्। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन २५ असारदेखि सुरु हुनेछ भने अधिकांश दृश्य काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खिचिनेछन्। चलचित्र आगामी १८ मंसिरदेखि देशभर प्रदर्शनमा ल्याइने तयारी गरिएको छ।
निर्देशक अनिल बुढा मगरका अनुसार ‘रातो घेरा-द रेड सर्कल’ सामाजिक तथा भावनात्मक कथावस्तुमा आधारित चलचित्र हो। समाजमा मानिसको अस्तित्व, सम्बन्ध र संघर्षलाई केन्द्रमा राखेर कथा निर्माण गरिएको उनले बताएका छन्।
चलचित्रमा दयाहाङ राई र मिरुना मगरसँगै खड्गबहादुर पुन, सुस्मिता कुँवर, भावना खपांगी मगर, कविता आले, रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, विजय पौडेल, बलबहादुर गुरुङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाईँ, रामबाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ र डीबी गुरुङलगायत कलाकारहरूको अभिनय रहनेछ।
विश्राम फिल्म प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रका मुख्य निर्माता जीवन गुरुङ हुन्। कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज), सरुन शेरचन, सुमन गुरुङ र खेम राना सह-निर्माताको रूपमा रहेका छन्। चलचित्रमा मनोज थापा मगर र सागर आले मगरको संगीत, राजु स्याङ्तानको कथा तथा पटकथा र शिशिर बिसंखेको छायांकन रहनेछ।
निर्माण पक्षका अनुसार काठमाडौं उपत्यकामा चलचित्रको वितरण काफिया फिल्म्सका गोविन्द शाहीले गर्नेछन् भने उपत्यका बाहिर कुवेर सिने डिष्ट्रिब्युसनले प्रदर्शन व्यवस्थापन गर्नेछ। नयाँ कथा, अनुभवी कलाकार र सामाजिक सन्देशसहित आउने दाबी गरिएको ‘रातो घेरा-द रेड सर्कल’ प्रति अहिलेबाटै दर्शकमाझ उत्सुकता बढ्न थालेको निर्माण टिमको विश्वास छ।