काठमाडौं । बलिउडको प्रतिष्ठित निर्माण कम्पनी यशराज फिल्म्सको बहुप्रतीक्षित स्पाई-एक्सन फिल्म ‘अल्फा’ प्रदर्शनको पहिलो दिनदेखि नै दर्शक र समीक्षक दुवैबाट निराशाजनक प्रतिक्रिया पाइरहेको छ। ‘टाइगर ३’ र ‘वार २’ ले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको अवस्थामा ‘अल्फा’ले पनि यशराजको ‘स्पाई युनिभर्स’लाई थप चुनौतीमा पार्ने संकेत देखिएको छ।
भारतका चर्चित फिल्म समीक्षक तरण आदर्शले फिल्मलाई १.५ स्टार रेटिङ दिएका छन्। उनका अनुसार फिल्मका एक्सन दृश्यहरू प्रभावशाली भए पनि कमजोर लेखनका कारण कथाले दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्न सकेको छैन। साथै, उनले अभिनेत्री आलिया भट्ट एक्सन भूमिकामा पूर्ण रूपमा प्रभाव जमाउन नसकेको टिप्पणी गरेका छन्।
यस्तै, अर्का समीक्षक सुमित कँडेलले फिल्मलाई १ स्टार मात्र दिँदै यसको कथावस्तुलाई तर्कहीन, हास्यास्पद र हलिउडबाट अत्यधिक प्रभावित भएको बताएका छन्। उनका अनुसार फिल्ममा न रोमाञ्च छ, न भावनात्मक गहिराइ, बरु दुई घण्टा ३० मिनेट लामो निराशाजनक अनुभव मात्र रहेको छ।
समीक्षक मात्र होइन, सामाजिक सञ्जालमा दर्शकहरूको प्रतिक्रिया पनि उत्साहजनक देखिएको छैन। अधिकांश दर्शकले फिल्मको एक्सन र भिजुअल पक्षको प्रशंसा गरे पनि कथा, पटकथा र प्रस्तुतिलाई कमजोर भन्दै आलोचना गरेका छन्। केहीले त हलिउडका एक्सन फिल्महरूको मौलिकता बिना नक्कल गरिएको आरोपसमेत लगाएका छन्।
शिव रवैलको निर्देशनमा बनेको ‘अल्फा’ करिब १२५ करोड भारतीय रुपैयाँको लागतमा निर्माण गरिएको हो। फिल्ममा आलिया भट्टसँगै अनिल कपूर, बबी देओल र शर्वरी वाघको मुख्य भूमिका रहेको छ। प्रारम्भिक अनुमानअनुसार फिल्मले पहिलो दिन करिब १० करोड रुपैयाँको ओपनिङ गर्न सक्ने अपेक्षा गरिएको भए पनि कमजोर ‘वर्ड अफ माउथ’का कारण दोस्रो दिनदेखि यसको बक्स अफिस व्यापारमा उल्लेखनीय गिरावट आउने अनुमान गरिएको छ।