काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै पश्चिम नेपालका विभिन्न नदी तथा खोलाहरूमा आज पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले विशेषगरी पश्चिम नेपालका साना नदी तथा खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को न्यून जोखिम रहेकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ। निरन्तर वर्षाका कारण ती क्षेत्रमा आकस्मिक बाढी आउने जोखिम रहेकाले नदी किनार, तटीय बस्ती तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
यस्तै, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, भेरी र पश्चिम सेतीजस्ता प्रमुख नदीहरूमा पनि आज पानीको सतह बढ्ने अनुमान गरिएको महाशाखाले जनाएको छ।
अन्य प्रमुख तथा मझौला नदीहरूमा भने पानीको बहाव सामान्य उतारचढावकै अवस्थामा रहने अपेक्षा गरिएको छ। तर, मनसुनका कारण देशका धेरै स्थानमा वर्षा जारी रहने सम्भावना रहेकाले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायले जारी गर्ने सूचना तथा चेतावनीलाई पालना गर्न महाशाखाले सबैलाई आग्रह गरेको छ।