काठमाडौं । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको बहुप्रतीक्षित नेपाली फिल्म ‘कार्की साइँला’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ। यसअघि साउन १ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्म अब असोज २ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ।
निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै संशोधित रिलिज मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी) रोमान्टिक अवतारमा देखिएका छन्। पोस्टरले फिल्मको प्रेमकथालाई संकेत गरे पनि शीर्षकले भने एक भरियाको जीवन, संघर्ष र यात्रालाई केन्द्रमा राखिएको कथा प्रस्तुत गर्ने आभास गराउँछ।
निर्माण टिमका अनुसार वितरकहरूसँगको आपसी छलफलपछि प्रदर्शन मिति सार्ने निर्णय गरिएको हो। फिल्मको निर्देशन राजेन्द्र बस्नेतले गरेका हुन् भने यसको छायांकन धनकुटा, बराहक्षेत्र, चतरा लगायत पूर्वी नेपालका विभिन्न रमणीय स्थानमा गरिएको छ।
फिल्ममा जितु नेपाल र प्रियना आचार्यसँगै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई र कमल देवकोटालगायत कलाकारहरूको अभिनय रहेको छ।
कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता र अनन्त राई कार्यकारी निर्माता रहेका छन्। सबिन अधिकारी र शंकर धितालको लेखन रहेको फिल्ममा दिप्सन लिम्बूको संगीत, किरण दाहालको द्वन्द्व निर्देशन तथा डम्बर राईको छायांकन रहेको छ।
फिल्मलाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्समार्फत गोविन्द शाहीले बजार व्यवस्थापन गर्नेछन् भने उपत्यकाबाहिर कुबेर फिल्म्सले वितरणको जिम्मेवारी सम्हाल्नेछ।