काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको पहिलो दिनमै निजी पेट्रोल पम्पहरू बन्द भएका छन्। निजी व्यवसायीहरूले मूल्य अत्यधिक घटाइएको भन्दै इन्धन बिक्री-वितरण स्थगित गरेपछि काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा उपभोक्ताले सास्ती भोग्नुपरेको छ।
निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको हो। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले त्यसको प्रत्यक्ष लाभ उपभोक्तालाई दिने उद्देश्यले नयाँ मूल्यसूची लागू गरिएको हो।
तर निगमको निर्णयप्रति असन्तुष्टि जनाउँदै निजी पेट्रोल पम्प सञ्चालकहरूले देशभर इन्धन बिक्री-वितरण बन्द गरेका छन्। उनीहरूको भनाइमा एकैपटक धेरै मूल्य घटाउँदा मौज्दात इन्धनमा ठूलो आर्थिक घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ।
काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पेट्रोल पम्पमा इन्धन भर्न उपभोक्ताको भीड लागेको छ। विशेषगरी भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा मोटरसाइकल, स्कुटर, कारलगायत सवारीसाधनको लामो लाइन देखिएको छ।
निजी क्षेत्रको विरोधका कारण इन्धन आपूर्तिमा असहज अवस्था सिर्जना भएको भन्दै उपभोक्ताहरूले तत्काल समस्या समाधान गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। यद्यपि सुरक्षा निकायद्वारा सञ्चालित पेट्रोल पम्पमार्फत इन्धन बिक्री-वितरण भने नियमित रूपमा जारी रहेको छ।
मूल्य घटाउने सरकारी निर्णय र त्यसविरुद्ध निजी व्यवसायीको आन्दोलनबीच सिर्जित अवस्थाले इन्धन आपूर्ति व्यवस्थापन तथा सरकार-निजी क्षेत्रबीचको समन्वयलाई लिएर नयाँ बहससमेत सुरु भएको छ।