काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज २ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ। आमाको माया, त्याग र सम्मानलाई केन्द्रमा राखेर तयार गरिएको गीतले वृद्धाश्रममा बस्न बाध्य भएका आमाहरूको पीडादायी यथार्थलाई पनि मार्मिक रूपमा प्रस्तुत गरेको छ।
गीतमा प्रमोद खरेल र मनीषा सुनारको स्वर रहेको छ भने शब्द डा. कृष्णहरि बरालका हुन्। अर्जुन पोखरेलको संगीत रहेको गीतले आमाबुबा भएको घर नै सबैभन्दा ठूलो तीर्थ भन्ने सन्देश दिन्छ। गीतका भावुक शब्द र संगीतले दर्शक तथा श्रोताको मन छुने अपेक्षा गरिएको छ।
सार्वजनिक गरिएको भिडियोमा मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल र चैत्यदेवीलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। मदनकृष्ण र मिथिला भने फिल्ममा नभई यस गीतमा विशेष रूपमा मात्र देखिएका छन्।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, विनोद कुमार पौडेल र आशिष पुरुषलगायत कलाकारहरूको अभिनय रहेको छ।
सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानीमा निर्माण भएको फिल्ममा विष्णु घिमिरे (कल्पित)को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले तयार पारेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको रहेको छ।