काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म "अक्षरा" ले आफ्नो पहिलो लुक्स सार्वजनिक गर्दै प्रचार अभियान सुरु गरेको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा मुख्य अभिनेत्री न्यान्सी खड्कालाई केन्द्रमा राखिएको छ, जसले फिल्मको कथावस्तुप्रति दर्शकमाझ उत्सुकता थप बढाएको छ।
सार्वजनिक पोस्टरमा न्यान्सी ढुंगे चौतारोमा रुखमुनि एक्लै बसिरहेको अवस्थामा देखिन्छिन्। उनको अनुहारको गम्भीर भाव, मौन अभिव्यक्ति र निराश देखिने हाउभाउले कुनै गहिरो मानसिक पीडा, विरह वा जीवनको कठिन मोडलाई संकेत गरेको अनुभूति गराउँछ। पोस्टरको पृष्ठभूमिमा देखिएका पातविहीन र उजाड रुखहरूले पनि जीवनको शून्यता, संघर्ष र भावनात्मक पीडाको प्रतीकात्मक चित्र प्रस्तुत गरेका छन्। यसले फिल्म केवल मनोरञ्जनमा सीमित नभई गहिरो संवेदनशील कथा बोकेको हुन सक्ने संकेत दिएको छ।
फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्काले यसअघि "१२ गाउँ" जस्तो सफल फिल्ममार्फत दर्शकको प्रशंसा बटुलिसकेकी छन् भने उनी अभिनेता अनमोल केसी अभिनीत आगामी फिल्म "बाटुलो जुन" मा पनि देखिनेछिन्। मिस नेपाल इन्टरनेसनल २०२२ की उपविजेता न्यान्सीले अमेरिकामा सञ्चार अध्ययन गर्नुका साथै मोडलिङ क्षेत्रमा पनि सक्रिय रूपमा काम गरेकी थिइन्। उनले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै देशलाई समेत चिनाएकी थिइन्।
निर्देशक विनय राज पौडेलको निर्देशनमा बनेको "अक्षरा" मा न्यान्सीसँगै सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, विरेन्द्र कुशवाहा, सुमन ज्योति न्यौपाने ९ल्याङ्ग्री दादा० लगायतका कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगानाले पनि अभिनय गरेका छन्।
सोनी थापा (ढुंगाना)को प्रस्तुति रहेको यस फिल्मको पटकथा तथा संवाद निर्देशक पौडेल र चर्चित लेखक अभिमन्यु निरवीले संयुक्त रूपमा तयार गरेका हुन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन् भने कार्यकारी निर्मातामा सुरज थापा काजी र सुमन ज्योति न्यौपाने रहेका छन्। फिल्मको मूल कथा निर्माता उग्रसेन ढुंगानाकै रहेको छ।
संगीतकार कर्णराज गिरी, गीतकार सुरेन्द्र राना, कोरियोग्राफर रामजी लामिछाने, द्वन्द्व निर्देशक शंकर महर्जन र छायाँकार दिपेन बस्न्यातको प्राविधिक टोलीले फिल्मलाई सशक्त बनाएको निर्माण पक्षले जनाएको छ। पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो बढेको देखिएको छ भने अब ट्रेलर र गीतमार्फत फिल्मले आफ्नो कथावस्तु अझ स्पष्ट रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।