काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशसभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन्।
यो बजेट चालू आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी रहेको छ। कुल विनियोजित बजेटमध्ये चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ, वित्तीय व्यवस्थातर्फ १५ करोड रुपैयाँ र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड रुपैयाँ र सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड रुपैयाँ सङ्कलन गरिने अनुमान छ।
यसका अतिरिक्त सशर्त अनुदानतर्फ ५ अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदानबाट ६४ करोड रुपैयाँ, विशेष अनुदानबाट ५५ करोड रुपैयाँ, रोयल्टी बापत प्राप्त हुने ४१ करोड रुपैयाँ र सोझै भुक्तानीबाट प्राप्त हुने २० करोड रुपैयाँ स्रोतका रूपमा परिचालन गरिनेछ भने बाँकी अपुग ५ अर्ब रुपैयाँ नगद मौज्दातबाट ब्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ।
भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले यस क्षेत्रका लागि १२ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । विनियोजित पूर्वाधार बजेटमध्ये स्थानीय तहका केन्द्र जोड्ने सडकहरू निर्माणका लागि ४ अर्ब रुपैयाँ र विपन्न वर्ग लक्षित जनता आवास कार्यक्रमका लागि ४ करोड ५० लाख रुपैयाँ खर्च गरिनेछ ।