काठमाडौं । नेपाली फिल्मको महत्वपूर्ण बजार मानिने रुपन्देहीको भैरहवामा अत्याधुनिक सुविधासहितको नयाँ मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ। देशको दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाज्ले सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरमा आफ्नो नयाँ आउटलेट औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।
भाटभटेनी सुपरस्टोरको पाँचौं तल्लामा स्थापना गरिएको उक्त मल्टीप्लेक्समा ३९६ दर्शक क्षमताका दुई अडिटोरियम रहेका छन्। हल निर्माणमा करिब ११ करोड रुपैयाँ लगानी गरिएको आईएनआईका निर्देशक आभाष कुँवरले जानकारी दिए।
उनका अनुसार हलमा बेल्जियममा निर्मित बार्को लेजर प्रोजेक्टर, १६ च्यानल डीटीएस-एक्स इमर्सिभ साउण्ड सिस्टम तथा आधुनिक सिटिङ सुविधा जडान गरिएको छ। यी प्रविधिले दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको चलचित्र हेर्ने अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
आईएनआई सिनेमाजका सञ्चालक सुरेन्द्र थापाले नयाँ हलमा प्रयोग गरिएको अत्याधुनिक प्रविधिले भैरहवाका दर्शकलाई विश्वस्तरीय दृश्य तथा श्रव्य अनुभव दिलाउने विश्वास व्यक्त गरे। उनले सुरक्षा व्यवस्थालाई समेत विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै आगलागी प्रतिरोधी सामग्री, आकस्मिक बहिर्गमन मार्ग तथा अन्य आवश्यक सुरक्षा पूर्वाधारको व्यवस्था गरिएको बताए।
सन् २०१९ मा स्थापना भएको आईएनआई सिनेमाजले काठमाडौं, बुटवल, सिमरा तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) लगायत विभिन्न स्थानमा आफ्नो नेटवर्क विस्तार गरिसकेको छ। काठमाडौंमा मात्रै यसका तीनवटा आउटलेट सञ्चालनमा छन्।
भैरहवामा नयाँ मल्टीप्लेक्स थपिएसँगै आईएनआई सिनेमाजको देशभर सञ्चालनमा रहेका स्क्रिनहरूको संख्या १३ पुगेको छ। कम्पनीले आगामी दिनमा अन्य प्रमुख सहरहरूमा समेत विस्तारको योजना बनाएको जनाएको छ।