काठमाडौं । चर्चित बलिउड अभिनेता मनोज बाजपेयीले विगत एक दशकदेखि समय-समयमा अभिनय छाड्ने विचार आउने गरेको बताएका छन्। तर, रोचक र चुनौतीपूर्ण भूमिकाले आफूलाई पुनः अभिनयतर्फ फर्काइरहने उनले खुलासा गरेका छन्।
रणवीर इलाहाबादियाको पोडकास्ट ‘द रणवीर शो’मा बोल्दै बाजपेयीले अभिनयलाई केवल जीविकोपार्जनको माध्यमका रूपमा लिन नचाहेको बताए। उनका अनुसार अभिनयप्रति अझै पनि गहिरो लगाव रहेकाले उपयुक्त चरित्र आएमा काम गर्न सधैं तयार रहनेछन्। ‘धेरै पटक अभिनय छोड्ने सोच आएको छ। पछिल्ला १० वर्षदेखि बेला-बेला यस्तो लाग्छ कि अब अभिनयबाट अलग होऊँ। तर, फेरि कुनै न कुनै भूमिका आउँछ र म त्यसमा आकर्षित हुन्छु,’ उनले भने, ‘घर चलाउनका लागि मात्रै अभिनय गर्नुपर्ने अवस्था म चाहन्नँ।’
बाजपेयीले अहिले आफूलाई कमर्सियल फिल्म, हल्का-फुल्का कमेडी तथा गीत-संगीतमा आधारित भूमिकाप्रति रुचि बढेको बताए। ‘आजभोलि मलाई कमर्सियल फिल्म गर्न मन लागिरहेको छ। ननसेन्स कमेडी गर्न पनि इच्छा छ, गीतमा नाच्न पनि रमाइलो लाग्छ,’ उनले भने।
अन्तर्वार्ताका क्रममा उनले आफ्नो चर्चित फिल्महरू गली गुलैयाँ,अलिगढ र भोन्सलेका गम्भीर पात्रहरूको प्रभाव अझै मनोवैज्ञानिक रूपमा बाँकी रहेको स्वीकार गरे। ती भूमिकाका कारण कहिलेकाहीँ भावनात्मक थकान र मूड स्विङ्स अनुभव हुने उनले बताए।
यस्ता चुनौतीपूर्ण पात्रहरूको प्रभावबाट सन्तुलित रहन आफ्नो जीवनमा आध्यात्मिकताको महत्वपूर्ण भूमिका रहेको पनि बाजपेयीले उल्लेख गरेका छन्।