काठमाडौं । लालीबजारले प्रदर्शनपूर्वको विवाद र बहिष्कार अभियानलाई चिर्दै बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ।
‘जात्रा’ समूहको नयाँ फिल्म ‘लालीबजार’ले प्रदर्शनअघि विभिन्न उतारचढाव सामना गरेको थियो। कहिले अदालतमा मुद्दा पर्दा रिलिज नै अन्योलमा पर्यो भने कहिले ‘खरानी ग्याङ’को फिल्म भन्दै सामाजिक सञ्जालमा बहिष्कार अभियान चलाइएको थियो। यसले फिल्मको व्यापारमा असर पार्ने धेरैको अनुमान थियो। तर, दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेपछि फिल्मले दोस्रो दिनदेखि नै व्यापारिक गति समातेको थियो। दोस्रो सातासम्म पनि बक्स अफिसमा मजबुत पकड बनाएको फिल्मले प्रदर्शनको १४ दिनमै ५ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ।
षट्कोण आर्ट्सका सीईओ म्याक्स दीपेश खत्रीले फिल्मप्रति दर्शकको विश्वास र सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए। उनका अनुसार फिल्मले आमा-छोरीको सम्बन्ध र शिक्षाको महत्त्वलाई भावनात्मक रूपमा प्रस्तुत गरेकाले दर्शकले कथासँग आत्मीयता महसुस गरेका छन्।
फिल्मको सफलताले अभिनेत्री स्वस्तिमा खड्कालाई पनि ठूलो राहत दिएको विश्लेषण भइरहेको छ। उनका पछिल्ला फिल्महरू बेहुली फ्रम मेघौली, वसन्त र हरिबहादुरको जुत्ता ले अपेक्षित व्यापारिक सफलता हासिल गर्न सकेका थिएनन्। ‘लालीबजार’ भने यस वर्षको पहिलो हिट फिल्म बन्ने संकेत देखिएको छ।
यम थापा को निर्देशनमा बनेको फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, रमेश बादी र तारा शर्मालगायत कलाकारको अभिनय रहेको छ। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।