काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालले झण्डै १७ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने २ खर्बभन्दा बढीको वस्तु निर्यात गरेको छ।
भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा १६ खर्ब ९२ अर्ब ६४ करोड २६ लाख ४० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८२ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।
त्यस्तै, चालु आवको १० महिनामा नेपालबाट २ खर्ब ४८ अर्ब ९६ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ। यो निर्यात गत आवको सोही अवधिको तुलनामा १४.२५ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा नेपालले २ खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो।
तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालले सबैभन्दा धेरै १ खर्ब ३० अर्ब ९३ करोड ७४ लाख १४ हजार रुपैयाँ बराबरको डिजेल आयात गरेको छ। त्यस्तै, १ खर्ब ६ अर्ब ८२ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको सोयाबिन तेल तथा त्यसको कच्चा पदार्थ, ५८ अर्ब ६३ करोड ९९ लाख १८ हजार रुपैयाँ बराबरको पेट्रोल तथा ४८ अर्ब ५ करोड २२ लाख ३० हजार रुपैयाँ बराबरको फलामको कच्चा पदार्थ आयात भएको छ।
निर्याततर्फ भने सोयाबिन तेल तथा त्यसको कच्चा पदार्थ अग्रस्थानमा रहेको छ। समीक्षा अवधिमा नेपालबाट १ खर्ब १ अर्ब २६ करोड ८८ लाख १५ हजार रुपैयाँ बराबरको सोयाबिन तेल तथा कच्चा पदार्थ निर्यात भएको विभागले जनाएको छ।
यसैगरी, ११ अर्ब ४२ करोड ४४ लाख ४५ हजार रुपैयाँ बराबरको ठूलो अलैँची, ८ अर्ब ४८ करोड ३० लाख ६६ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटाइल र ७ अर्ब ४१ करोड १५ लाख ६१ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल तथा त्यसको कच्चा पदार्थ निर्यात भएको छ।