काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेता उत्तम केसी निर्वाचित भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न संघको २१औँ महाधिवेशनबाट उनले २१६ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।
अध्यक्षका अर्का प्रत्याशी सविन श्रेष्ठले १३२ मत प्राप्त गरेका थिए । कुल ३५६ मत खसेको निर्वाचनमा उत्तम केसी स्पष्ट मतान्तरसहित विजयी बनेका हुन् । सविन संघका निवर्तमान महासचिवसमेत हुन् । संघको उपाध्यक्षमा शिवहरि बैरागी र पूजना प्रधान निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा सुनील कटुवाल, सचिवमा गोपाल ढकाल ‘छन्दे’, कोषाध्यक्षमा तेजुला खतिवडा तथा सह-कोषाध्यक्षमा पवन केसी विजयी भएका छन् । निर्वाचित पदाधिकारीमध्ये पवन केसी बाहेक सबै उत्तम केसी प्यानलबाट विजयी भएका हुन् ।
कार्यसमिति सदस्यतर्फ १० पदका लागि २८ जनाबीच प्रतिस्पर्धा भएको थियो । सदस्यमा दमन रूपाखेती, इन्द्रबहादुर लामा ‘खम्बे’, चन्द्रकला राई ‘लब्ली संगम’, छुल्ठिम गुरुङ, नवीनकुमार श्रेष्ठ, जीवन थापा, सुलेमान शंकर ‘इकु’, रश्मि भट्ट, चन्द्रकला दाहाल र श्रीदेव भट्टराई निर्वाचित भएका छन् । संघको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ ।
यसैबीच, महाधिवेशनका क्रममा केही समय तनावपूर्ण अवस्था पनि सिर्जना भएको थियो । संघका निवर्तमान अध्यक्ष मोहन निरौलाले मतदानस्थलमा उत्तम केसीका पक्षमा भोट मागेको भन्दै सविन श्रेष्ठले आपत्ति जनाएका थिए । त्यसपछि दुवै पक्षबीच चर्काचर्की भएको थियो ।
पछि भने दुवैले आत्मालोचना गर्दै एकअर्कासँग अंकमाल गरेपछि विवाद साम्य भएको थियो ।