काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म काजीको ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले मंगलबार युट्युबमार्फत तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।
निर्देशक लक्ष्मण रिजाल द्वारा निर्देशित फिल्मको ट्रेलरमा मुख्य कलाकार विपिन कार्की र केकी अधिकारी को सम्बन्धमा आउने उतारचढावलाई केन्द्रमा राखिएको छ । ट्रेलरमा विपिन ‘काजी’ र केकी ‘कजिनी’ पात्रको भूमिकामा देखिएका छन् ।
ट्रेलरअनुसार टुहुरा काजीले विवाहपछि आफ्नी श्रीमतीप्रति गर्ने प्रेम, विश्वास र समर्पण फिल्मको मुख्य कथावस्तु हो । तर वैवाहिक सम्बन्ध जोगाउन कजिनीले बोलेको एउटा झुटले कथामा नयाँ मोड ल्याउने संकेत ट्रेलरले गरेको छ । पारिवारिक प्रेमकथामा आधारित फिल्म भएकाले दर्शकमाझ यसले विशेष रुचि पाउने अपेक्षा गरिएको छ ।
फिल्ममा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीप बाबु लोहनी, रोजी श्रेष्ठ र प्रशंसा सुवेदीलगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा गरिमाले विपिनकी सालीको भूमिकामा अभिनय गरेकी छन् ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा रामप्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी रहेका छन् । फिल्ममा प्रदीप भारद्वाजको लेखन, चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटा को संगीत, सुजिल कर्माचार्यको पार्श्व संगीत, कविराज गहतराजको नृत्य निर्देशन तथा विपिन मल्लको सम्पादन रहेको छ ।