काठमाडौं । ग्लोबल टेक कम्पनीको राइड हेलिङ सेवा ‘याङ्गो राइड’ले आफ्नो ड्राइभर पार्टनर नेटवर्क कार्यक्रम काठमाडौं बाहिर विस्तार गर्दै चितवन तथा आसपासका क्षेत्रका इच्छुक चालकलाई ‘याङ्गो प्रो’ कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।
कम्पनीले चितवनका तीन स्थानमा विशेष कार्यक्रम आयोजना गरी चालक दर्ता, अभिमुखीकरण तथा अन्तरक्रियात्मक सत्र सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा याङ्गो नेपाल प्रमुख सन्तोष पाण्डे सहित हेडक्वाटर र स्थानीय टोलीका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा चालकहरूका लागि दर्ता प्रक्रिया, एप प्रयोग सम्बन्धी जानकारी, गेम तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो। साथै सहभागीहरूलाई इन्धन कार्ड, ब्रान्डेड ब्याग, क्याप तथा अन्य उपहार सामग्री वितरण गरिएको थियो। याङ्गो राइडका अनुसार प्लेटफर्ममार्फत चालक पार्टनरहरूले आफ्नो समयअनुसार काम गर्दै मासिक रु। १ लाखसम्म आम्दानी गर्न सक्ने अवसर प्राप्त गर्न सक्छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रमुख सन्तोष पाण्डेले अवसरलाई भौगोलिक सीमाभित्र सीमित गर्न नहुने बताएका छन्। उनले मेहनती चालकहरूलाई याङ्गो प्लेटफर्ममार्फत राम्रो आम्दानीको अवसरसँग जोड्ने उद्देश्यले चितवनमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले काठमाडौं बाहिरका इच्छुक व्यक्तिहरूलाई समेत कम्पनीको पार्टनर अफिसमार्फत आबद्ध हुन सकिने उल्लेख गर्दै आगामी दिनमा नेपालका प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए।
कम्पनीका अनुसार यो पहलले काठमाडौं बाहिरका नेपाली नागरिकलाई लचिलो समय व्यवस्थापन, आत्मनिर्भरता तथा अतिरिक्त आम्दानीको अवसर उपलब्ध गराउने विश्वास लिइएको छ।
याङ्गो ग्रुपले हाल आवागमन, डेलिभरी, फूड टेक तथा मनोरञ्जनलगायतका डिजिटल सेवा अफ्रिका, युरोप, ल्याटिन अमेरिका, मध्यपूर्व र दक्षिण एसियासहित ३० भन्दा बढी देशमा सञ्चालन गर्दै आएको छ।