काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले अभिनयबाट छोटो विश्राम लिएका छन्। वर्षमा लगातार तीनदेखि चार फिल्मसम्म गर्ने व्यस्त कलाकारका रूपमा चिनिएका अक्षयले स्वास्थ्य अवस्थालाई प्राथमिकता दिँदै केही समयका लागि कामबाट टाढा रहने निर्णय गरेका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अक्षय कुमारले मे ६ को बिहान आँखाको ‘माइनर सर्जरी’ गराएका हुन्। ‘भिजन करेक्सन’का लागि गरिएको उक्त शल्यक्रियापछि चिकित्सकले केही दिन आराम गर्न सुझाव दिएका छन्। अहिले उनी स्वास्थ्य लाभ गरिरहेका छन् र केही समय पूर्ण विश्राममा रहने बताइएको छ।
अक्षयले हालै आफ्नो नयाँ फिल्म ‘केरलम’को छायांकन पूरा गरेका थिए। मे ५ मा फिल्मको सुटिङ सकेपछि उनी भोलिपल्ट बिहानै अस्पताल भर्ना भएका थिए। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र निको हुने प्रक्रियामा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमार्फत अक्षयले फिल्मको छायांकन सम्पन्न भएको जानकारी दिँदै निर्देशक अनीस बज्मी, सहकलाकार ख्ष्मथब द्यबबिल, राशि खन्ना तथा सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेका छन्। उनले पोस्टमा लेखेका छन्, “सुन्दर ठाउँमा राम्रा मानिसहरूसँग काम गर्नु भन्दा राम्रो अरू केही हुँदैन। यो प्रोजेक्ट मेरो लागि निकै विशेष रहेको छ।”
अक्षय कुमार बलिउडमा सबैभन्दा धेरै फिल्म गर्ने अभिनेतामध्ये एक मानिन्छन्। उनी एकै वर्षमा धेरै फिल्म प्रदर्शन गर्ने कलाकारका रूपमा चर्चित छन्। एक्सन, कमेडी, सामाजिक विषयवस्तु तथा देशभक्तिपूर्ण कथामा आधारित फिल्ममार्फत उनले लामो समयदेखि दर्शकमाझ आफ्नो अलग पहिचान बनाएका छन्।
पछिल्लो समय उनको हरर-कमेडी फिल्म भूत बंगला प्रदर्शनमा आएको थियो। यस फिल्मले दर्शकमाझ मिश्रित प्रतिक्रिया पाए पनि अक्षयको अभिनयको चर्चा भने भइरहेको छ।
स्वास्थ्यका कारण छोटो विश्राम लिए पनि अक्षयले छायांकनमा चाँडै फर्किने तयारी गरिरहेको भारतीय मिडियाले जनाएको छ। उनका आगामी केही परियोजना निर्माणको चरणमा रहेका छन्।