काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बहुमतको आडमा मनपरी निर्णय नगर्न रास्वपा नेतृत्वको सरकारलाई चेतावनी दिएका छन्। बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले जनादेशको सम्मान गर्दै सकारात्मक काममा सहयोग गर्ने तर गलत कदममा कडा खबरदारी गर्ने स्पष्ट पारे।
थापाले रास्वपाले हालैको निर्वाचनमा प्राप्त गरेको जनमतलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै संविधान र कानुनको सीमाभित्र रहेर गरिने काममा कांग्रेसले अवरोध नगर्ने बताए। तर उनले बहुमतलाई ‘जे पनि गर्न पाइने अधिकार’का रूपमा व्याख्या गर्न नहुनेमा जोड दिए। उनले विगतको दुईतिहाइ सरकारको अनुभव स्मरण गराउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति संकेत गर्दै अहिलेको सरकारलाई पनि त्यही गल्ती नदोहो¥याउन सुझाव दिए। “प्रजातन्त्रको आधार विधिको शासन हो, कानुनभन्दा माथि कोही हुँदैन,” उनले भने।
अध्यादेशमार्फत भइरहेको निर्णयप्रति पनि थापाले प्रश्न उठाएका छन्। विशेषगरी संवैधानिक परिषद्सम्बन्धी संशोधनप्रति कांग्रेसको कडा आपत्ति रहेको उनले बताए। उनका अनुसार परिषद् प्रधानमन्त्रीको मनोमानी नियन्त्रण गर्न बनाइएको भए पनि हाल त्यसको उद्देश्य विपरीत प्रयोग भइरहेको छ।
यसैगरी, उनले हालैको डोजर अभियानको आलोचना गर्दै गरिब, सुकुम्बासी र कमजोर वर्गमाथि अन्याय भएको टिप्पणी गरे। कानुनअनुसार समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले राज्यले मानवीय संवेदनशीलता कायम राख्नुपर्ने बताए।
यद्यपि, सरकारले गरेका सकारात्मक कदमहरूमा कांग्रेस सहयोगी रहने उनले स्पष्ट पारे। विशेषगरी लिम्पियाधुरा-लिपुलेक विषयमा कूटनीतिक पहललाई समर्थन गर्दै सुशासनका काममा साथ दिने प्रतिबद्धता व्यक्त गरे।
थापाको यो अभिव्यक्तिलाई वर्तमान सरकारप्रति समर्थन र खबरदारी दुवै सन्देशका रूपमा हेरिएको छ।