काठमाडौं । डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’ को टिजर सार्वजनिक भएको छ। एक्सन-ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।
सार्वजनिक टिजरले फिल्मको डार्क, इन्टेन्स तथा एक्सन-ड्रिभेन शैली स्पष्ट रूपमा प्रस्तुत गरेको छ, जसले दर्शकमाझ फिल्मप्रति थप उत्सुकता बढाएको छ। बलियो ब्याकग्राउन्ड म्युजिक, आकर्षक सिनेम्याटोग्राफी र पात्रहरूको प्रभावशाली प्रस्तुतीले फिल्म उच्च स्तरको निर्माण भएको संकेत गर्छ।
फिल्ममा अशोक आर्यन मुख्य भूमिकामा देखिएका छन्। साथै, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापा लगायत कलाकारहरूको अभिनय रहेको छ। दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको सहभागिताले फिल्मलाई थप व्यापक दर्शकसम्म पुर्याउने अपेक्षा गरिएको छ।
फिल्मका लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन्। उनले गीतका शब्द पनि लेखेका छन् भने संगीत अनुप तिवारीले दिएका छन्। ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन हुने बताइएको छ। फिल्मको छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको हो।
यसअघि सार्वजनिक गीत ‘स्वर्गकी परी’ ले पनि दर्शकमाझ राम्रो चर्चा बटुलेको थियो। अञ्जु पन्त र अनुप तिवारीको स्वर रहेको उक्त गीतमा अशोक आर्यन र सृष्टि खड्काबीचको केमेस्ट्रीलाई दर्शकले सकारात्मक रूपमा लिएका थिए।
निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको फिल्ममा संजय थापाको द्वन्द्व निर्देशन रहेको छ। फिल्मका निर्मातामा निर्देशक श्रेष्ठ र राजेश साह रहेका छन् भने कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन्।
टिजर सार्वजनिक भएसँगै ‘कुम्भ’ ले नयाँ अनुहार र अनुभवी कलाकारको संयोजनमार्फत नेपाली फिल्म उद्योगमा फरक स्वाद दिने अपेक्षा गरिएको छ।