काठमाडौं । नेपाली फिल्म क्षेत्रमा चरित्र अभिनेताका रूपमा स्थापित हुँदै गएका सुशील सिटौलाको व्यस्तता यतिबेला उच्च बिन्दुमा पुगेको छ। पछिल्लो समय हप्तैपिच्छे नयाँ फिल्ममा अनुबन्धित भइरहेका उनले अब नयाँ फिल्म ‘महाराजधिराज’मा पनि स्थान बनाएका छन्।
केही साताअघि फिल्म ‘पाँच पाण्डव’को छायांकनमा व्यस्त रहेका उनी हालै ‘अक्षरा’ फिल्मको शुभ मुहूर्तमा सहभागी भएका थिए। यसैबीच, आगामी वैशाख अन्तिमबाट छायांकन सुरु हुने ‘महाराजधिराज’मा पनि उनी अनुबन्धित भएका हुन्। निर्माता विराज विष्टसँग भएको लिखित सम्झौतापछि उनको प्रवेश पक्का भएको हो।
फिल्ममा उनी महत्त्वपूर्ण भूमिकामा देखिने बताइए पनि उनको चरित्रबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन। परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्ने यस फिल्ममा पुष्प खड्का, केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, पूजा शर्मा, उषा रजक, हिउँवाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी र गजित विष्टलगायत कलाकारहरूको अभिनय रहनेछ।
फिल्मको कथा मुख्य रूपमा पुष्प खड्काले निर्वाह गर्ने ‘अधिराज’ पात्रको वरिपरि केन्द्रित रहने जनाइएको छ। नवराज थापाको छायांकन रहने यस फिल्मका निर्माता रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन्।
सुनसरीस्थित श्रीलंका टापुबाट छायांकन सुरु गरिने योजना रहेको फिल्मलाई काठमाडौं, भक्तपुर र कीर्तिपुरमा पनि खिचिनेछ। निर्माण टिमले असारभित्र छायांकन सम्पन्न गरी यस वर्षको दशैंको फूलपातीको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखेको छ।