काठमाडौँ । नेपाली फिल्म उद्योगमा यस वर्षको दशैंमा पनि बक्स अफिस भिडन्त रोचक हुने भएको छ। असोज ३० गते, अर्थात् फूलपातीको अघिल्लो दिन, दुई चर्चित कलाकार अनमोल केसी र पल शाहका फिल्म एकै मितिमा प्रदर्शनमा आउने तय भएको छ।
यस मितिमा बाटुलो जून र आ बाट आमा २ रिलिज हुने भएपछि दर्शकबीच ठूलो उत्साह देखिएको छ। ‘बाटुलो जून’मा अनमोल केसी मुख्य भूमिकामा छन् भने ‘आ बाट आमा २’मा पल शाह देखिनेछन्।
दशैंलाई नेपालमा फिल्म प्रदर्शनका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ। लामो बिदा र दर्शकहरूको ‘फेस्टिभ मुड’ का कारण यस अवधिमा फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिन्छ। यही कारणले हरेक वर्षजस्तै यस पटक पनि धेरै फिल्महरू प्रदर्शनका लागि तयार भइरहेका छन्।
यस वर्षको दशैंमा ‘१२ गाउँ २’, ‘छ माया छपक्कै २’, ‘महाराजधिराज’ लगायतका फिल्महरू पनि प्रदर्शनको तयारीमा छन्। तर असोज ३० को मिति विशेषगरी दुई ठूला स्टारबीचको प्रतिस्पर्धाका कारण चर्चामा आएको हो। निर्माता तथा निर्देशक चन्द्र पन्तले ‘आ बाट आमा २’ को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरेसँगै भिडन्त पक्का भएको हो। यसअघि ‘बाटुलो जून’ ले सो मिति तय गरिसकेको थियो।
अनमोल र पलबीचको यो पहिलो भिडन्त भने होइन। यसअघि फर्की फर्की र पूजार सार्की एकसाथ प्रदर्शनमा आएका थिए, जहाँ व्यावसायिक रूपमा ‘पूजार सार्की’ सफल भएको थियो।
अब दोस्रो पटकको प्रतिस्पर्धामा कसको फिल्मले दर्शकको मन जित्छ भन्ने चासो बढेको छ। यसको नतिजाका लागि भने असोज ३० सम्म पर्खनै पर्ने देखिन्छ।