काठमाडौँ । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म काजी को पहिलो गीत ‘वारि बर पारि पिपलु’ सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौँको रञ्जना सिनेप्लेक्स मा आयोजित कार्यक्रममा निर्माण टिमले प्रेमिल भाव बोकेको उक्त गीत सार्वजनिक गरेको हो।
गीतले युवायुवतीबीचको प्रेम, आत्मीयता र समर्पणको भावलाई उजागर गरेको छ। कथानक शैलीमा तयार पारिएको भिडियोमा मुख्य कलाकार विपिन कार्की र केकी अधिकारी लाई नवविवाहित जोडीको रूपमा प्रस्तुत गरिएको छ। उनीहरूबीचको प्रेम, हेरचाह र पारस्परिक सम्मानलाई भिडियोमा आकर्षक ढंगले चित्रण गरिएको छ।
ग्रामीण परिवेशमा आधारित प्रेमकथालाई केन्द्रमा राखिएको फिल्मको संकेत गीतमार्फत नै पाइन्छ। निर्देशक लक्ष्मण रिजाल को निर्देशनमा बनेको फिल्ममा विपिन र केकीसहित गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुवेदी तथा बाल कलाकारहरू दीक्षिता अर्याल, आरव बराल र सुपला सापकोटाको अभिनय रहेको छ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा राम प्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी रहेका छन्। प्रदीप भारद्वाज को लेखन रहेको फिल्मलाई चिन्तन राजभण्डारीले छायांकन गरेका हुन्।
फिल्ममा कालीप्रसाद बास्कोटा को संगीत, सुजिल कर्माचार्यको पार्श्व संगीत, कविराज गहतराजको नृत्य निर्देशन तथा विपिन मल्लको सम्पादन रहेको छ।