काठमाडौं । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै नेपाली चलचित्रकर्मीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। पाटन उच्च अदालतले चलचित्र ‘लाली बजार’को प्रदर्शनमा अस्थायी रोक लगाएपछि कलाकारहरू सडकमा उत्रिएका हुन्।
बुधबार भएको प्रदर्शनमा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रविन्द्रसिंह बानियाँ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा लगायतका फिल्मकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। खगेन्द्र लामिछाने, मनोज पण्डित, अशोक शर्मा र गणेशदेव पाण्डे लगायतका कलाकारहरूले पनि सहभागिता जनाएका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘सिनेमा बोलेस्, साहित्य सुनाओस्’, ‘हाम्रो कथा खुल्न देऊ’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै कलात्मक स्वतन्त्रताको पक्षमा आवाज उठाएका थिए। उनीहरूले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।
यसअघि पाटन उच्च अदालतले चलचित्र ‘लाली बजार’को प्रदर्शन २२ वैशाखसम्म रोक्न आदेश दिएको थियो। निर्देशक यम थापाको यो फिल्म १८ वैशाखदेखि प्रदर्शनमा आउने तयारीमा थियो। चलचित्रमा प्रयोग भएका केही शब्द र दृश्यले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको आरोप लगाउँदै सो समुदायका तर्फबाट रोशनी नेपालीले अदालतमा मुद्दा दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो।
षट्कोण आर्टसद्वारा निर्माण गरिएको ‘लाली बजार’ वादी समुदायका महिलाहरूको संघर्षमा आधारित फिल्म हो। केन्द्रीय चलचित्र जाँच समितिले यसअघि नै फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरिसकेको थियो।
अदालतको आदेश र चलचित्रकर्मीको विरोधसँगै अभिव्यक्ति स्वतन्त्रता, सामाजिक संवेदनशीलता र कानुनी सीमाबीचको सन्तुलनबारे नयाँ बहस सुरु भएको छ।