काठमाडौं । ‘पैसा’ गीतबाट चर्चामा आएका गायक तथा कमेडियन कुशल पोख्रेलले नयाँ फिल्म ‘बब डाइ’मा र्याप गीत गाएका छन्। पछिल्लो समय फिल्मी गायनमा सक्रिय रहेका उनले यही फिल्ममार्फत अभिनयमा समेत डेब्यू गरेका छन्।
कुशलले यसअघि ‘बेहुली फ्रम मेघौली’ र ‘रमिताको पिरती’ जस्ता फिल्ममा गीत गाइसकेका छन्। ‘बब डाइ’मा समावेश उनको नयाँ र्याप गीतको भिडियो यसै साता ललितपुरको भैंसेपाटीमा छायांकन गरिएको छ। सोमबार र मंगलबार गरिएको छायांकनमा कुशल स्वयंका साथै फिल्मका मुख्य कलाकारहरू पनि प्रस्तुत भएका छन्।
फिल्मका निर्देशक प्रवीन श्रेष्ठका अनुसार अब अभिनेता सौगात मल्लसँग सम्बन्धित केही दृश्यहरूको छायांकन मात्र बाँकी रहेको छ। हास्य कथावस्तुमा आधारित यस फिल्ममा सौगात मल्ल, कुशल पोख्रेल, सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी र भिन्तुना जोशी लगायतका कलाकारहरूको अभिनय रहनेछ। बाल कलाकारका रूपमा अग्रिम पण्डित देखिनेछन्।
रोटेपिङ्ग इन्टरटेनमेन्टले श्रीराम बालाजी फिल्म्ससँग सहकार्यमा निर्माण गरिरहेको यस फिल्ममा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माताको रूपमा रहेका छन् भने रवीन्द्र प्रजापति कार्यकारी निर्माता हुन्। मैनिषा गौचन र प्रवीन श्रेष्ठको कथा रहेको फिल्ममा श्याम तामाङको छायांकन तथा प्रवीन श्रेष्ठकै सम्पादन रहेको छ।
फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्माण टिमले जनाएको छ।