काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै कृषि क्षेत्रमा कर्जा प्रवाह उल्लेखनीय रूपमा बढाएको जनाएको छ। बैंकका अनुसार २०८२ चैत मसान्तसम्म कृषि क्षेत्रमा ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरिएको छ।
बैंकले आधार दरमा न्यूनतम प्रिमियम कायम गरी सहुलियतपूर्ण ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउँदै आएको छ। साथै, कृषि कर्जामा प्रशोधन शुल्कमा समेत छुट प्रदान गरिएको जनाएको छ। कुखुरापालन, बाख्रापालन, गाईभैंसीपालन र माछापालनजस्ता कृषिमा आधारित परियोजनामा लगानी गर्दै आएको बैंकले पछिल्लो समय विभिन्न प्रदेशका उत्पादनलाई लक्षित गर्दै विशेष कर्जा कार्यक्रम सञ्चालन गरेको छ।
बैंकले ‘प्रदेश विशेष कृषि कर्जा’ अन्तर्गत ४:७५ प्रतिशत ब्याजदरमा ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको छ। त्यसैगरी, साना किसानलाई लक्षित ‘साना किसान सरल कर्जा’ योजनाअन्तर्गत १० लाख रुपैयाँसम्म बिना प्रशोधन शुल्क ४:७५ प्रतिशत ब्याजदरमा कर्जा प्रदान भइरहेको छ। किसानलाई लक्षित ‘किसान क्रेडिट कार्ड’ सुविधा पनि सञ्चालनमा रहेको छ।
कृषि कर्जालाई व्यवस्थित बनाउन बैंकले छुट्टै नीति तथा कार्यविधि लागू गर्नुका साथै केन्द्रीय कार्यालयमा कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरेको छ। यसमार्फत कृषि विज्ञ जनशक्ति परिचालन गरी सेवा विस्तार गरिएको बैंकले जनाएको छ।
हाल बैंकले देशभरका ७७ जिल्लामा रहेका ३१४ शाखामार्फत कृषि कर्जा प्रवाह गर्दै ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गरेको छ। साथै, वित्तीय सचेतना कार्यक्रममार्फत किसानलाई कर्जासम्बन्धी जानकारी पनि प्रदान गर्दै आएको छ।
बैंकका अनुसार कृषि क्षेत्रमा गरिएको लगानीले यान्त्रीकरण, व्यवसायीकरण, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा सकारात्मक योगदान पुर्याएको छ।