काठमाडौं । नेपाली चलचित्र ‘गौंथली’को नयाँ संस्करण आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। मंगलबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।
दुई दशकअघि डा.भोला रिजालले निर्माण गरेको ‘गौंथली’ नेपाली सिनेमा इतिहासमा ‘कल्ट क्लासिक’का रूपमा परिचित छ। वसन्त श्रेष्ठको निर्देशनमा बनेको उक्त फिल्म नेपालको पहिलो गीति फिल्म समेत मानिन्छ, जसले प्रदर्शनका बेला उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको थियो।
यसपटक सोही नाममा डा. रिजालका छोरा तथा निर्देशक डा। कपिल रिजालले फिल्म निर्माण गरेका छन्। करिब ३-४ महिनाअघि नै छायांकन सम्पन्न भइसकेको फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य भूमिका रहेको छ। उनीहरूसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा र सीतादेवी तिमल्सिनालगायत कलाकारको अभिनय देख्न पाइनेछ।
डा.भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद कपिल रिजाल, निश्चल कुँवर, गिरिराज घिमिरे र नीरज नेपालले संयुक्त रूपमा तयार पारेका हुन्। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका निर्माता सुमन गिरी र डा.कपिल रिजाल हुन् भने सरला रिजाल कार्यकारी निर्माताको भूमिकामा छिन्।
इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह(निर्माता रहेको फिल्ममा शम्भुजीत बाँस्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ। साथै हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी तथा एलिस कार्कीको पार्श्व संगीत समावेश गरिएको छ।