काठमाडौं । परालको आगो कथामा आधारित नयाँ फिल्म ‘परालको आगो’ प्रदर्शनको पूर्वसन्ध्यामा कलाकार प्रकाश सपूत र सुहाना थापा ले आफ्नो अभिनय अनुभव ‘सप्ठ्यारा र अप्ठ्यारा’ दुवै रहेको बताएका छन्।
गुरुप्रसाद मैनाली को ‘नासो’ कथासंग्रहमा समावेश यस चर्चित कथालाई निर्देशक लक्ष्मण सुनार ले पुनः फिल्मका रूपमा प्रस्तुत गरेका हुन्। यसअघि करिब ४५ वर्षअघि प्रताप सुब्बा ले पनि यही कथामा फिल्म निर्माण गरेका थिए।
फिल्ममा प्रकाशले ‘चामे’ र सुहानाले ‘गौंथली’ पात्रको भूमिका निर्वाह गरेका छन्, जहाँ उनीहरू श्रीमान्-श्रीमतीको सम्बन्धमा देखिन्छन्। दुवै कलाकारका अनुसार, उनीहरूले अहिलेसम्म गरेका भूमिकामध्ये यो सबैभन्दा चुनौतीपूर्ण अनुभव रह्यो।
प्रकाश सपूतका लागि ‘चामे’ पात्र समाजमा देख्दै आएको भए पनि त्यसलाई पर्दामा उतार्नु सजिलो थिएन। विशेषगरी कराउने, गाली गर्ने र हिंसात्मक दृश्यहरू अभिनय गर्दा आफूलाई असहज लागेको उनले बताए। महिला सशक्तिकरणका गीत गाउने आफ्नो छविसँग पात्रको व्यवहार मेल नखाँदा सुरुमा डर लागेको उनको भनाइ छ।
उता, सुहाना थापाका लागि ‘गौंथली’ पात्र जीवनशैली र परिवेशका हिसाबले आफूभन्दा निकै फरक थियो। तर, मनोविज्ञानको विद्यार्थी भएकाले पात्रको मानसिक अवस्था, भावना र व्यवहार बुझ्न उनलाई सहज भएको उनले बताइन्।
सुहानाले एक वर्षको तयारी अवधिमा घरेलु हिंसाबाट प्रभावित महिलाको मनोविज्ञान अध्ययन गरेर पात्रलाई आत्मसात् गरेको बताएकी छन्। उनी भन्छिन्, यथार्थपरक कथा भएकाले दर्शकसँग पात्र ‘रिलेटेबल’ हुने विश्वास छ ।
कलाकारद्वयका अनुसार पात्रलाई बुझ्नु र त्यसलाई पर्दामा प्राविधिक रूपमा प्रस्तुत गर्नु फरक प्रक्रिया हो। उनीहरूले सहकार्य र आपसी समझदारीले कठिन दृश्यहरूलाई सहज बनाएको अनुभव साटेका छन्।
गाउँघरको यथार्थ, दाम्पत्य सम्बन्ध र सामाजिक मनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘परालको आगो’ भोलि शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।