काठमाडौं । नेपालमा पहिलो पटक विश्वस्तरीय नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल-२०२६’ आयोजना हुने भएको छ। आइतबार ललितपुरको पुल्चोकमा आयोजित एक विशेष समारोहका बीच उक्त कार्यक्रमको औपचारिक घोषणा गरिएको हो।
आयोजकका अनुसार, यो प्रतियोगिता परम्परागत टेलिभिजन रियालिटी शोभन्दा फरक ‘परफर्मेन्स-आधारित’ ढाँचामा सञ्चालन हुनेछ। कार्यक्रममा निर्णायकको भूमिकामा किरण थापा, जेरी टावल र टेरेन्स लेविन्स रहनेछन्।
कार्यक्रममा बोल्दै निर्णायक किरण थापाले नेपालमा डान्स प्रतिभाको कमी नभएको उल्लेख गर्दै यस प्लेटफर्मले नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले भने, “यो प्रतियोगिता अन्य रियालिटी शोभन्दा फरक हुनेछ, जहाँ भावनात्मक प्रस्तुति भन्दा बढी प्रदर्शनको गुणस्तरमा ध्यान दिइनेछ।”
अभिनेत्री परीक्षा लिम्बुले डान्स र अभिनयबीचको अन्तरसम्बन्धबारे प्रकाश पार्दै दुवै क्षेत्रमा स्टोरी टेलिङ, एक्सप्रेसन र इमोशन महत्वपूर्ण हुने बताइन्। उनका अनुसार, डान्सले चलचित्रजस्तै भाव अभिव्यक्त गर्ने माध्यम प्रदान गर्छ।
त्यसैगरी, कार्यक्रमकी फेस कविता नेपालीले नेपालमा डान्स क्षेत्र कमजोर हुँदै गएको अवस्थामा यस्ता अन्तर्राष्ट्रिय प्लेटफर्मले नयाँ ऊर्जा र आशा दिने बताइन्। उनले डान्सरहरूलाई निरन्तर अभ्यास र समर्पणमार्फत अगाडि बढ्न प्रेरित गरिन्।
कार्यक्रममा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले समेत मन्तव्य दिएका थिए।
आयोजकका अनुसार प्रतियोगितामा गोल्ड प्लेटेड ट्रफीसहित विभिन्न पुरस्कारहरू राखिएका छन्। इच्छुक सहभागीहरूले मोबाइल एपमार्फत दर्ता गरेर अडिसनमा भाग लिन सक्नेछन्। विजेताहरूले नगद पुरस्कार, गिफ्ट ह्याम्पर तथा विभिन्न अवार्ड प्राप्त गर्नेछन्।
‘वर्ल्ड अफ डान्स नेपाल-२०२६’ ले नेपाली नृत्य प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।