काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा १०औँ महाधिवेशनबाट समीर बलामी पुनः अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न निर्वाचनमा १४० मतमध्ये ९५ मत प्राप्त गर्दै उनले आफ्ना प्रतिस्पर्धी जीवन पराजुलीलाई पराजित गरेका हुन्। पराजुलीले ४२ मत प्राप्त गरेका थिए।
दोस्रो कार्यकालका लागि निर्वाचित बलामीले संघको व्यावसायिकता, मर्यादा र साख अभिवृद्धिका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा ७३ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नवीन गिरीले ६२ मत प्राप्त गरेका थिए। उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन्।
उपाध्यक्ष (महिला) मा दीपज्योती थापा ७५ मतसहित विजयी हुँदा सुष्मा कार्कीले ६२ मत प्राप्त गरिन्। महासचिवमा गोपीकृष्ण चापागाईं ५४ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी मनिष कार्कीले ४४ मत ल्याएका थिए भने अन्य उम्मेदवार सीपी जैसी र पवन भट्टराईले क्रमशः १९ र १८ मत प्राप्त गरेका थिए।
सचिव पदमा मदन रिजाल ९४ मतसहित विजयी हुँदा सुरेन्द्र थापा मगरले ४५ मत प्राप्त गरे। सचिव (समावेशी) मा महम्मद जलिम निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा मनिष अञ्जान दाहाल ७४ मतसहित निर्वाचित भएका छन् भने उनकी प्रतिस्पर्धी निशा बजगाईँले ६५ मत प्राप्त गरिन्। सह-कोषाध्यक्षमा अर्जुन गुरागाईं ६२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी भोला सुवेदीले ४२ मत प्राप्त गरेका थिए।
सदस्य पदमा सुशिल नेपाल, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा), रतनबहादुर चन्द, सालिकराम न्यौपाने, नवीन चापागाईं र दीपराज क्षेत्री निर्विरोध निर्वाचित भएका छन्।
महाधिवेशनको निर्वाचन समितिमा अधिवक्ता कृष्ण ढुंगाना मुख्य निर्वाचन अधिकृत रहेका थिए। निर्वाचन मण्डलमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक माधवराज खरेल तथा पूर्वअध्यक्ष विदुर गिरी सहभागी रहेका थिए।