काठमाडौं । निर्देशक वसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘पाँच पाण्डव’ तिहारको अवसर पारेर प्रदर्शन हुने भएको छ। निर्माण टिमले आरआर फिल्म्ससँग वितरण सम्झौता गर्दै फिल्मलाई तिहारमा रिलिज गर्ने निर्णय गरेको हो।
यद्यपि, प्रदर्शन मिति औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। वितरक र निर्माताबीच लक्ष्मीपूजाको दिन फिल्म प्रदर्शन गर्ने सहमति भएको बताइएको छ।
वितरण अधिकार लिएपछि आरआर फिल्म्सका प्रमुख रोहित कट्टेलले फिल्मको कथा र कलाकारको लाइनअप हेरेर वितरणको जिम्मा लिएको बताए। उनका अनुसार तिहारजस्तो ठूलो चाडमा दर्शकले खोज्ने पूर्ण मनोरञ्जन यो फिल्मले दिने अपेक्षा गरिएको छ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता तथा काली रानी श्रेष्ठ निर्माता रहेको फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, दीपाश्री निरौला, रजनी गुरुङ, सुशील सिटौला, प्रशान्त ताम्राकार र इभा गिरीलगायतको अभिनय रहनेछ।
फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले तयार गरेका हुन् भने छायांकन श्याम तामाङले गरिरहेका छन्।
निर्देशक निरौलाका अनुसार शीर्षक ‘पाँच पाण्डव’ भए पनि फिल्म कुनै धार्मिक वा पौराणिक कथामा आधारित छैन। महाभारतका पाण्डव पात्रहरूको विम्ब प्रयोग गर्दै समकालीन समाजको कथा प्रस्तुत गरिने उनले बताएका छन्।