काठमाडौं । परिक्षेद सेनको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘महाराजधिराज’मा कलाकारहरूको बलियो लाइनअप देखिएको छ। नयाँदेखि पुराना पुस्ताका स्थापित कलाकारहरूको उल्लेखनीय उपस्थिति रहने यस फिल्ममा अभिनेत्री केकी अधिकारी ‘महारानी’ पात्रमा अनुबन्धित भएकी छन्।
निर्माण पक्षले बुधबार केकीसँग औपचारिक सम्झौता गर्दै टिम विस्तार गरेको हो। प्रस्तुतकर्ता विराज विष्टले सामाजिक सञ्जालमार्फत ‘महाराजधिराजकी महारानीलाई स्वागत’ भन्दै उनको सहभागिताप्रति खुसी व्यक्त गरेका छन्। जानकारी अनुसार ‘महारानी’ पात्रका लागि यसअघि वर्षा सिवाकोटी अनुबन्धित थिइन्। तर पछि उनको स्थानमा केकीलाई लिइएको हो। फिल्ममा केकी अधिकारी र पुष्प खड्काको जोडी देखिनेछ।
वैशाखको अन्तिम साताबाट छायांकन सुरु गर्ने तयारी गरिएको यस फिल्ममा नीर शाह, रमेश उप्रेती, आर्यन सिग्देल, पुष्प खड्का, वर्षा राउत, गजित विष्ट, उषा रजक, हिउँवाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, आशा पौडेललगायत करिब ८० कलाकारहरूको अभिनय रहनेछ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्मका निर्माता रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्। फिल्मको छायांकन नवराज थापाले गर्नेछन्।
सुनसरीको श्रीलंका टापुबाट छायांकन सुरु गर्ने योजना रहेको यस फिल्मको सुटिङ काठमाडौं, भक्तपुर र कीर्तिपुरमा समेत गरिनेछ। निर्माण टिमले फिल्मलाई यसै वर्षको दशैंमा प्रदर्शनमा ल्याउने लक्ष्य राखेको छ।