काठमाडौं । अभिनेता विराज भट्ट डेढ वर्षपछि नयाँ फिल्मसहित हलमा फर्किएका छन् । शुक्रबारबाट उनी अभिनीत फिल्म ‘राम नाम सत्य’ प्रदर्शनमा आएको हो । पछिल्लो पटक उनी आफैँले निर्देशन गरेको फिल्म ‘१२ गाउँ’मा देखिएका थिए, जुन २०८१ सालमा प्रदर्शन भएको थियो । यसपछि उनले काम गरेको पहिलो फिल्म नै ‘राम नाम सत्य’ हो ।
‘छक्का पञ्जा ५’ जस्तो ब्रान्ड फिल्मसँग प्रतिस्पर्धाका बाबजुद पनि ‘१२ गाउँ’बाट विराजले ठूलो व्यावसायिक सफलता हासिल गरेका थिए । यो फिल्मले लगभग २० करोड रुपैयाँ कमाएको थियो । यो एक्सन जनरामा सर्वाधिक कमाउने नेपाली फिल्म समेत हो । अब डेढ वर्षपछि पर्दामा फर्किएका विराजलाई त्यही फिल्मको सफलता दोहोर्याउनुपर्ने ठूलो चुनौती देखिन्छ ।
एकल रिलिजको अवसर पाएको यो फिल्मलाई हलहरूले पर्याप्त शो उपलब्ध गराएका छन् । फिल्मले देशव्यापी लगभग १८० शो पाएको छ । तर, फिल्मको टिकट बुकिङ भने अपेक्षित देखिएको छैन । बिहानी शोमा दर्शक अकुपेन्सी पनि न्यून रहँदा अब फिल्मको व्यापार ‘वर्ड अफ माउथ’मा निर्भर हुने देखिन्छ । बक्स अफिसमा फिल्मको भविष्य पनि यसले नै निर्धारण गर्नेछ ।
माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनिल थापा, प्रशान्त ताम्राकार, आयुषसिंह ठकुरी, खुशी कार्की, दिनेश डिसी लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्मातामा रहेका छन् ।