काठमाडौं । लोकप्रिय हास्य रियालिटी शो ‘कमेडी दरबार’ को तेस्रो सिजनमा अभिनेत्री दीया मास्के ‘रानी’ का रूपमा भित्रिएकी छन्। यसअघि ‘महाराजा’ र ‘महारानी’ पात्र मात्र रहेको सोमा यसपटक ‘रानी’ पात्र थप गरिएको हो।
कार्यक्रमका निर्देशक तथा होस्ट विक्की अग्रवालका अनुसार अघिल्ला सिजनका ‘महाराजा’ मनोज गजुरेल र ‘महारानी’ गौरी मल्ल यथावत रहने छन्। नयाँ सिजनलाई अझ विविध र आकर्षक बनाउन पात्र विस्तार गरिएको उनले जानकारी दिए।
यसैबीच, तेस्रो सिजनमा नयाँ कमेडियनहरू पनि थपिएका छन्। सन्तोष थापा, दिनेश काफ्ले र सुजन जिम्बा यसपटक दर्शकसामु नयाँ रूपमा प्रस्तुत हुनेछन्।
अन्य कलाकारहरूमा अघिल्ला सिजनका चर्चित अनुहारहरू नै निरन्तर रहनेछन्। जसमा सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बिटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा, खड्ग बहादुर पुन (खबपु) र विकास अर्याल समावेश छन्।
निर्माण टिमका अनुसार तेस्रो सिजनलाई अघिल्लाभन्दा अझ आकर्षक बनाउन सेट डिजाइनदेखि प्रस्तुति शैलीसम्म परिमार्जन गरिएको छ।
‘कमेडी दरबार ३’ आगामी वैशाख ४ गते शुक्रबारदेखि प्रसारणमा आउनेछ। कार्यक्रमको सञ्चालन सजिना खनाल र विक्की अग्रवालले गर्नेछन् भने निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईंले गरेका छन्।